काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार कोरोना संक्रमणबाट ४५ मिनेटको फरकमा आमा–छोराको मृत्यु भएको छ।

मृतकमा धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय सौतेनी छोरा हुन्। छोराको बिहान ७ः४५ मा र आमाको बिहान ८ः३० मा मृत्यु भएको प्रतिष्ठान स्रोतले बतायो। 

ती दुवै आमा–छोरालाई विगत डेढ सातादेखि खोकी र ज्वरो देखिएको थियो। श्वासप्रश्वासमा तीव्र समस्या भएपछि दुवैलाई हिजो शनिबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। ती महिलालाई पहिलेदेखि नै मधुमेह र उच्च रक्तचाप थियो। छोरामा मधुमेह र कलेजोमा समस्या थियो। 

दुवैको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा कोरोना पोजिटिभ देखिएको चिकित्सकहरुले बताएका छन्। दुवैको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।