काठमाण्डौ । कोरोना कहर कहिलेसम्म अन्त्य होला ? अहिले जोकोहीको प्रश्न यही हुने गरेको छ। तर हरेक वर्ष कोरोना डर झनै बढ्दै गइरहेको छ। किनकि हरेक दिन त्रासदीपूर्ण आँकडाहरु अगाडि आइरहेको छ। 

नयाँ आँकडाअनुसार महामारीयता पहिलोपटक विश्वभर एकैदिन १० लाख बढी मानिसमा कोरोना पुष्टि भएको छ। सन् २०२० मार्चबाट कोरोनाले महामारीको रुप लिएको थियो। यद्यपि पहिलोपटक भने चीनको वुहान सहरमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना पुष्टि भएको थियो। महामारीयता एकैदिन १० लाख बढीमा संक्रमण पुष्टि भएको यो नै पहिलोपटक हो। 

अमेरिकामा नयाँ संक्रमणको आँकडाले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ। यसको मुख्य कारण कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन नै रहेको बताइएको छ। 

त्यसो त विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पछिल्लोपटक ओमिक्रोन र डेल्टा भेरिएन्ट विश्वभर कोरोनाको सुनामी ल्याउन सक्ने चेतावनी दिइसकेको छ। यसले पहिले नै थाकिसकेका स्वास्थ्यकर्मी र स्वास्थ्य सेवा प्रणालीमा चर्को दबाब पर्ने डब्ल्यूएचओको भनाइ थियो। 

अहिले अमेरिकासँगै युरोपमा ओमिक्रोनको संक्रमण तीव्रगतिमा फैलिरहेको छ। ओमिक्रोनको संक्रमण कम नआँक्न र आफ्नो जनसंख्याको ७० प्रतिशतलाई आउँदो जुलाईको सुरुआतसम्म खोप लगाउन डब्ल्यूएचओले सबै देशहरुलाई आग्रह गरेको छ। – एजेन्सी