काठमाण्डौ । जर्मनीकी चान्सलर एंगेल मार्केलका चिफ अफ स्टाफ हेल्ज ब्रौनले कोरोनाभाइरसको महामारी कम से कम यो वर्षभरि रहने बताएका छन्।

स्थानीय एक रेडियोसँगको अन्तर्वार्तामा ब्रौनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले अन्तर्वार्तामा भनेका छन्, ‘हामी कोरोना महामारीपछिको अवस्थामा होइन महामारीबीच बाँचिरहेका छौँ र यो अवस्था कम से कम यो वर्षभरि नै रहिरहन्छ।’

ब्रौनको यो धारणा सार्वजनिक भएको एक दिनअघि जर्मनी चान्सलर मार्केलले देशमा लकडाउन खु्कुलो पार्न केही कदमहरु घोषणा गरेकी थिइन्। यद्यपि मार्केलले यदि देशमा कोरोना संक्रमणको मामिलामा बढोत्तरी आएमा प्रतिबन्ध र लकडाउनमा पुनः कडाइ गर्ने बताएकी थिइन्।

जर्मनीमा लकडाउन खुकुलो पारिएसँगै यही महिना देशकै ठूलो फुटबल प्रतियोगिता ‘बुन्दस लिग’ को आयोजना गर्ने पनि तयारी सुरु भएको छ। – एजेन्सी