काठमाण्डौ । मुद्रण विभागले बुधबार बिहानबाट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको रातो किताबको छपाइ सुरु गरेको छ। 

हाललाई ५०० प्रतिमात्र रातो किताब छपाइ गर्न भन्दै अर्थ मन्त्रालयले गत मंगलबार विभागलाई पत्राचार गरेको थियो। सोहीअनुसार विभागले बुधबार बिहानबाट रातो किताबको छपाइ सुरु गरेको हो। 

यसअघि वर्षहरुमा रातो किताब १५ सय प्रति छापिँदै आएको थियो। 

आगामी आर्थिक वर्षको बजेट भोलि ९जेठ १५ गते० बिहीबार संसद्मा पेस हुँदैछ। यसका लागि रातो किताबबाहेकका अन्य आवश्यक बजेट सामग्री भोलि मध्याह्नबाट छाप्न सुरु हुने विभाग स्रोत बताउँछ। 

बजेट सामग्री छपाइ गर्न विभागले ५० जना कर्मचारी खटाएको छ। सबै कर्मचारीलाई कोरोना सतर्कता अपनाउँदै पीपीई सेट लगाउन दिइएको छ। सबै कर्मचारीलाई खाना र बस्ने व्यवस्था विभागभित्रै गरिएको छ। 

बजेट गोपनीयता राख्न कुनै पनि कर्मचारीले मोबाइल बोक्न दिइएको छैन। यी कर्मचारीलाई भोलि अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गरेपछि मात्रै विभागबाट बाहिर निस्किन दिइने मन्त्रालय स्रोत बताउँछ। 

बजेट सामग्री गोपनीयता र सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एउटा टोली लगाइएको छ। 

बजेट सामग्री छपाइसम्बन्धी प्रबन्धलगायत सम्पूर्ण कामका लागि अर्थसचिव शिशर ढुंगा आफैँ खटिएका छन्। उनले नै बजेटका कोर टिम खटाएका हुन्।