काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले हालसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरिसकेको जनाएको छ। यति धेरै रकम आखिर के–केमा खर्च भयो त? 

नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव नारायण विडारी भन्छन्, ‘कोरोना रोकथामका विभिन्न क्षेत्रमा कुल ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको छ। जसमा संघीय सरकारले ६ अर्ब ३ करोड, प्रदेश सरकारले १ अर्ब ८ करोड र स्थानीय तहले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरिसकेका छन्।’ 

संघीय सरकारले ६ अर्ब ३ करोड रुपैयाँमध्ये अधिकांश रकम औषधि तथा औषधीजन्य उपकरणमा खर्च गरेको छ। त्यसमा पीसीआर मेसिन, किट, आरडीटी किट, पीपीई, प्रोटेक्टिभ चस्मा, पन्जा, बुट आदि सबै खर्च रहेको विडारी बताउँछन्। भारतबाट खरिद गरी ल्याइएको औषधिको खर्च पनि यसैमा समावेश रहेको उनले जानकारी दिए। 

संघीय सरकारले चीनको वुहानबाट उद्धार गरी ल्याइएका १७५ जना विद्यार्थीको खर्च पनि यहीँ समावेश गिरिएको छ। विडारीले भने, ‘उनीहरुलाई यहाँ ल्याउँदा लागेको हवाई भाडा, क्वारेन्टाइनमा राख्दाको खाना तथा बस्दोबस्तीको खर्च र अन्य खर्च पनि समावेश भएको छ।’

संघीय सरकारले गरेको खर्चमा पूर्वाधार निर्माण तथा औषधि र औषधिजन्य उपकरणको ढुवानी गर्न सेनाले गरेको उडानको खर्चसमेत जोडिएको छ। विभिन्न जिल्ला र प्रदेशमा स्वास्थ्य उपकरण पुर्याउन नेपाली सेनाको हेलिकोप्टरहरु प्रयोग गरिएका थिए। 

यसैगरी कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सरकारले निकासी गरेको २ अर्ब रुपैयाँमध्ये प्रदेश सरकारले पनि १ अर्ब ८ करोड रुपैयाँ खर्च गरिसकेको छ। 

त्यस्तै संघीय सरकारले स्थानीय तहहरुका लागि ४ अर्ब रुपैयाँको संघीय बजेट पठाएकोमध्ये २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका छन्। ७५३ स्थानीय तहमध्ये ६२९ स्थानीय तहले आफूले गरेको खर्चको विवरण उच्चस्तरीय समन्वय समितिलाई पठाएका छन्। बाँकी १२४ स्थानीय तहले भने खर्च विवरण पाएका छैनन्।

संघीय सरकारबाहेक प्रदेश सरकार र स्थानीय तहमार्फत भएको अधिकांश खर्च राहत तथा क्वारेन्टाइन निर्माणमा खर्च भएको विडारीले बताए। कोरोना रोकथामका लागि हालसम्म भएको खर्चमा नेपालमा क्रियाशील एनजीओ, आईएनजीओ र विकास साझेदारहरुले गरेको खर्च समावेश नगरिएको विडारीले जानकारी दिए। ‘उनीहरुको राहत वितरणको विवरण आइसकेको छैन’, उनले भने। 

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म २ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ। त्यसमध्ये १ अर्ब २० करोड रुपैयाँ निकासा गरी खर्च गरिएको र अरु रकम कोषकै खातामा रहेको पनि विडारीले जानकारी दिए।