काठमाण्डौ । कोरोनाभाइरस संक्रमण जाँचका लागि पीसीआर परीक्षण गर्न लिइएको स्वाबको परिणाम नआई क्वारेन्टिनबाट घर फर्काइएका महोत्तरीका ५ जनामा नतिजा पोजेटिभ आएको खुलासा भएको छ।

त्यसपछि क्वारेन्टिनबाट घर फर्काइएका महोत्तरी मटिहानी नगरपालिका ५ जनामा कोरोना पोजेटिभ देखिएपछि पुनः शनिबार प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएपछि यो घटना सार्वजनिक भएको हो। काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार  पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्टिनमा बस्दै आएका मटिहानी नपा–७ बस्ने २१ वर्षीय पुरुष, ८ बस्ने १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बस्दै आएका वडा नं ९ बस्ने २८ वर्षीय दुईजना र प्रावि धिरापुरको क्वारेन्टिनमा बस्दै आएका वडा नं २ बस्ने ११ वर्षीय एकजना रहेका छन्। 

उनीहरुलाई तीन दिनअघि पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएको बताइएको छ। उनीहरुलाई जिल्ला सदरमुकाम जलेश्वरस्थित आइसोलेशनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।