काठमाण्डौ । भारतको औषधि निर्माता कम्पनी फाइजरले सन् २०२० मै विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन तयार हुने दाबी गरेको छ।

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा विश्वभरका वैज्ञानिकहरु दिनरात खटिरहेकै बेला भारतबाट यस्तो सुखद् खबर सार्वजनिक भएको हो । हाल विभिन्न देशका वैज्ञानिकहरुले विकास गरेको भ्याक्सिनको विभिन्न चरणको परीक्षण भइरहेको छ।

फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोर्लाले यदि भ्याक्सिनको परीक्षण सोचेजस्तै भएमा र नियामक निकायले भ्याक्सिनलाई मन्जुरी दिएमा यही वर्षभित्र सार्वसाधारणको पहुँचमा पुग्ने बताए। भारत सरकारले हाल कोरोना भ्याक्सिनको पहुँच सबै जनतासम्म पुर्याउनका लागि रुपरेखा तयार गरिरहेको छ।

बोर्लाका अनुसार सबै कुरा ठिक भएमा सुरुआती संख्यामा यो भ्याक्सिनको डोज वितरणका लागि तयार हुनेछ। फाइजरले अमेरिकामा पनि त्यहाँको सरकारको अनुबन्धमा यो वर्षको अन्त्यसम्म ४० मिलियन डोज र सन् २०२१ को मार्चसम्म १०० मिलियन डोज आपूर्ति गर्ने संकेत गरेको छ।

उता बेलायतको अक्सफोर्ड युनिभर्सिटीको कोरोनाविरुद्धको भ्याक्सिन सबैभन्दा भरपर्दो मानिएको छ। यो भ्याक्सिनबारे दुईवटा राम्रा खबर सार्वजनिक भएका छन्। एउटा यो भ्याक्सिन वयस्कसँगै वृद्धवृद्धामा पनि प्रभावकारी र प्रतिरोधक क्षमता वृद्धि गर्न सफल भएको देखिएको छ। अर्को खबर यो छ कि भ्याक्सिन निर्माता कम्पनी अस्ट्राजेनेकाले आउँदो नोभेम्बर २ बाट यो भ्याक्सिन प्रयोगमा ल्याउन एउटा ठूलो अस्पताललाई तयारी अवस्था रहने भनिसकेको छ। 

यी दुवै खबरले अब कोरोनाविरुद्धको भ्याक्सिन छिटै आउनेमा आम सार्वसाधारण आशावादी देखिएका छन्।– एजेन्सी