काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिला दैनिकजसो घट्न थालेको छ। 

पछिल्लो २४ घन्टामा भारतमा २ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनको संख्या ४० दिनयताकै कम हो। 

पछिल्लो २४ घन्टामा भारतमा १ लाख ९५ हजार ८१५ जना संक्रमित फेला परेको छ। यसअघि गत अप्रिल १६ मा भारतमा एकैदिन २ लाख १७ हजार ३५३ जनामा कोरोना पुष्टि भएको थियो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो १७–१८ दिनदेखि कोरोना संक्रमणको मामिलामा तीव्र गिरावट आउन थालेको छ। 

पछिल्लो २४ घन्टामा भारतमा ३ हजार ४९८ जनाको मृत्यु भएको छ। योसँगै कुल मृत्युको संख्या ३ लाख ७ हजार २४९ पुगेको छ। यो मृत्युदर १.१४ प्रतिशत हो। 

भारतमा हालसम्म कोरोनाबाट २ करोड ६९ लाख ४७ हजार ४९६ जना संक्रमित भएका छन्। तीमध्ये २ करोड ४० लाख ४७ हजार ७६० जना निको भएका छन्। यो संक्रमणमुक्त हुने दर ८९ प्रतिशत हो। – एजेन्सी