काठमाण्डौ । कोशी प्रदेशका १४ जिल्लामा रहेको स्रोतमा आधारित उद्यमहरुको पूर्वसम्भावना अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा नेपाल उद्योग  महासंघ कृषि उद्यम केन्द्रले तयार गरेको अध्ययन प्रतिवेदनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै छलफल गरिएको हो।

प्रदेशमा कृषि र अन्य स्थानीय स्रोतहरुको उपलब्धताको समीक्षा, प्रदेशभित्रका जिल्लाहरुमा स्थानीय स्रोतहरुमा आधारित सम्भावित उद्यमहरुको पहिचान, सम्भावित उद्यमहरुका लागि बजारको अवस्था विश्लेषण, स्थानीय कच्चा पदार्थको उपलब्धताका आधारमा प्रदेशका जिल्लाहरुमा सम्भावित उद्यमहरुको अवस्था र कोशी प्रदेशमा उद्यम विकासका लागि लगानीका क्षेत्रहरु पहिल्याउन प्रारम्भिक तहको सूचना उपलब्ध गराउने उद्देश्यले अध्ययन गरिएको महासंघ कोशी प्रदेशले जनाएको छ। 

२०७९ फागुनदेखि २०८० असारसम्मको अध्ययन अवधिमा १४ वटै जिल्लाका २५२ जना सरकोरवाला व्यक्तिहरुसँग छलफल गरी अध्ययन प्रतिवेदन तयार पारिएको हो। 

कोशी प्रदेशमा विभिन्न बाली तथा पशुपन्छीको उत्पादन वृद्धिको सम्भावना रहेकोले कच्चा पदार्थ उपलब्ध हुन सक्ने, युवाहरुमा उद्यमशीलतातर्फ आकर्षण देखिँदा नवप्रवद्र्धन उद्यमहरु सञ्चालन हुन सक्ने सम्भावना रहेको पाइएको जनाइएको छ। 

सरकारको नीति उद्यम विकास प्रवर्द्धनमुखी रहेकाले विभिन्न सहयोग र अवसर उपलब्ध रहेको, प्रविधि विकासले कृषि बस्तुहरुको उत्पादन र उत्पादकत्व वृद्धि हँुदै गइरहेको, वित्तीय संस्थाहरुमा पहुँच वृद्धि तथा वित्तीय संस्थाहरुको उद्यममा लगानी वृद्धि योजनाको लाभ हुनसक्ने सम्भावना देखिएको अध्ययनका क्रममा पाइएको छ।

अध्ययनले सोलुखुम्बुमा रेन्बो–ट्राउट माछाको उत्पादन, औषधीय र सुगन्धित वनस्पतिहरु (धसिंगरे, धुपी, तितेपाती) प्रचुर मात्रामा रहेको, अल्लो र लोक्ताको उपलब्धता लगायतका उद्यमशिलताका क्षेत्रहरु रहेको छ। त्यसैगरी आलु, जौ, मकै, कोदो, फापर, सेतो सिमी, आदि रैथाने बालीहरुको पनि उत्पादन हुने गरेको पाइएको हो।

संखुवासभामा राँगाको सुकुटी, चैनपुरको सख्खर, गुणस्तरीय नेपाली कागजको उत्पादन, चिराइतो, अलैंची र रुद्राक्षको प्रसस्त उत्पादन रहेको पाइएको हो। ताप्लेजुङमा अल्लो, लोक्ता र अर्घेली, धुपी, मछिनो र रैथाने बालीहरुको सम्भावना रहेको  छ।

धनकुटामा किवी फल, सुन्तला, आलु बखडा, एभोकाडो, अमृसो, बाँस र बाँसजन्य सामग्रीहरु र अर्गेलीको प्रचुर सम्भावना पहिचान भएको छ। तेह्रथुममा अर्घेली र लोक्ता, अलैंची, आलु, दुध, खाँडीका कपडा र बाँस उत्पादनको सम्भावना रहको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

भोजपुरमा अल्लो, बाख्रापालन, उत्तिस काठ, भिनिएर, अर्घेली, विभिन्न जातका फलफुल, ओखलढुंगामा सुकुटी, कोदोको पिठो, दाल, आलु, टिमुर, मछिनो, खोटाङमा बाख्रापालन, हिउँदे फलफुलहरु, सेरेना मौरी र बाँसको उत्पादन धेरै रहेको  छ।

त्यसैगरी पाँचथरमा अलैंची, अर्घेली, किवी, अदुवा र पशुजन्य उत्पादन, इलाममा किवी, अम्लिसो, अलैंची र बाँस, तरकारी र दुधजन्य उत्पादन धेरै रहेको प्रतिवेदनमा उल्लेख छ। उदयपुरमा दालचिनी र त्यसको तेल, बेसार, बाँस, मासु र सुनसरीमा बेसार, अम्रिसो, मकै र घाँस, बाख्रा, बंगुर, माछा उत्पादनको प्रचुरता बढेको जनाइएको छ। मोरङमा सवैभन्दा धेरै खाद्यान्न बाली, मासु, दुध, केरा आँप लगायतका फलफुल, मह र कृषि पर्यटनको धेरै सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ। झापामा घाँस, अर्गानिक मल, मासु, सुपारी, चियाको उत्पादन धेरै रहेको  छ।

कृषि उद्यम केन्द्रका अधिकृत दिपेन्द्र जोशीले उक्त पूर्वसम्भावना अध्ययन प्रतिवेदनको सारांश सार्वजनिक गरेका थिए। त्यसैगरी निजी सार्वजनिक साझेदारी अवसरबारे बालकृष्ण दाहालले प्रस्तुतिकरण गरेका थिए। 

अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम समितिका सभापति डीबी बस्नेतले पहिचान भएका उत्पादनका सम्भावनालाई अघि बढाउन स्थानीय तहहरुले अग्रसरता देखाउनुपर्ने बताए। उनले निजी क्षेत्रले उद्यमशीलताको भोग जगाउने उदेश्यले अध्ययन गरेर सरोकारवालाहरुलाई जानकारी गराएको बताए। 

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्थानीय श्रोतको उपलब्धताका आधारमा सम्भावना रहेका क्षेत्रहरुको बारेमा अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए। उनले जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघ मार्फत एक गाउँ एक उत्पादन, एक जिल्ला एक उत्पादन जस्ता कार्यक्रम ल्याएर महासंघले कृषि व्यवसायीहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।