काठमाण्डौ । कोशी प्रदेशका लागि तयार पारिएको स्टार्टअप उद्यम नीतिको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल गरिएको छ। संघ र प्रदेश सरकारले स्टार्टअप उद्यमीहरुलाई उद्यमशिलतामा अभिप्रेरित गर्न नीति तथा कार्यक्रम र बजेटमा गरेका व्यवस्थाका आधारमा बलियो नीति बन्नुपर्नेमा जोड दिएका हुन्।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सोमबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवनप्रकाश सिटौलाले नीतिको मस्यौदामा उल्लेख भएका बिषयहरुबारे जानकारी गराएका थिए।
छलफलमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले नविन विचार र कार्यक्रमहरुलाई अघि बढाउन सरकार सँधै तयार रहेको बताए। उनले नविन बिचार सिर्जना गर्ने बौद्धिक जगतलाई राष्ट्रनिर्माणको काममा सहभागी गराउन सकिएमात्रै मुलुकको आर्थिक विकास हुने बताए।
मन्त्री सिटौलाले हालसम्मको अनुभवका आधारमा स्टार्टअप नीति निर्माण हुन लागेकोले आगामी दिनलाई नीति कार्यक्रम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको स्टार्टअप नीतिको मस्यौदा आउनु राम्रो पक्ष भएको बताए। उनले नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको कृषि उद्यम केन्द्रसँग पनि सहकार्य गरेर नीतिलाई अझ फराकिलो बनाउनुपर्ने सुझाव दिए। कोशी प्रदेशको आगामी बर्षको बजेटले स्टार्टअप उद्यमीहरुका लागि उल्लेख्य कार्यक्रमहरु सम्बोधन गरेको जानकारी दिँदै अध्यक्ष राउतले उद्यमशिलताको विकासमा महासंघले सधैँभरि सकारात्मक सहयोग गर्ने बताए। उनले स्टार्टअपदेखि अन्य उद्योगहरुको दर्तासमेत प्रदेशमै गर्न सकिने व्यवस्थाका लागि नीति खुकुलो रुपमा बन्नुपर्ने सुझाव दिए।
मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा.दिलनाथ फुयलले छोटो छरितो नीतिको आवश्यकता रहेकोमा जोड दिए। उनले नीतिमा उल्लेखित स्टार्टअप बोर्डलाई कार्यकारी काम गर्नसक्ने गरी जिम्मेवारी प्रदान गर्नुपर्ने बताए। साथै कोशी प्रदेशको प्रथम आवधिक योजनाले उल्लेख गरेका लक्ष्य प्राप्तिका लागि पनि नीतिले आवश्यक सम्बोधन गर्नुपर्ने सुझाव दिए।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसायमा जोखिम धेरै हुने भएकोले नवउद्यमको प्रवर्द्धनको काम चुनौतीपूर्ण हुने बताए। युवा जनशक्ति विदेशमात्रै जान खोज्ने अवस्थाका कारण स्टार्टअपमा आकर्षण बढाउनै चुनौति रहेको उनले बताए।
नयाँ उद्यमीलाई प्रोत्साहन गर्दै उनीहरुका लागि वित्तीय स्रोतको सुनिश्चित गर्न सरकारले बैंक तथा वित्तीय संस्थाहरुको नीतिसमेत परिवर्तन गर्नुपर्ने अध्यक्ष सुरानाले सुझाव दिए। नवउद्यमीहरुलाई सफ्ट लोनको व्यवस्था गर्न सकिए स्टार्टअपमा आकर्षण बढ्ने धारणा राखे।
पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.विजुकुमार थपलियाले नीतिका माध्यमबाट स्टार्टअपमा काम गर्नसक्ने वातावरण बन्नुपर्नेमा जोड दिए। उनले नीतिमात्रै धेरै बनाउने भन्दा सहजीकरणका संयन्त्रहरुले समेत असल नियतले काम गर्नुपर्ने बताए।
प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले स्टार्टअपको लक्षित वर्ग पहिचान नभई नीति निर्माण गर्न नहुने तर्क गरे। उनले निजी र सरकारी सहकार्यअन्तर्गत नीति निर्माण भएको खण्डमा मात्रै नीति कार्यन्वयन हुनसक्ने बताए।
उद्योग परिसंघ कोशी प्रदेशका कार्यकारी निर्देशक विजयहरि शर्माले स्टार्ट नीतिको कार्यन्वयनका लागि सरकारी कर्मचारी र जनशक्तिको पनि भूमिका हुने बताए। स्विस कन्ट्याक्टका प्रतिनिधि पदम भण्डारीले स्टार्टअपको परिभाषा सरल बनाउनुपर्ने सुझाव दिए।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उपसचिव गणेश नायकले स्टार्टअप नीतिको स्रोत स्पष्ट हुन नसकेको भन्दै कानुनी हैसियत निक्र्यौल गर्नुपर्ने बताए।
कृषि विज्ञ डा.राजेन्द्र उप्रेतिले विज्ञहरुको स्थायी रोष्टर व्यवस्थापन गर्ने कुरासमेत नीतिमा स्पष्ट रुपमा समावेश गर्नुपर्ने सुझाव दिए। उनले मन्त्रालयहरुको नाम र जिम्मेवारी फेरिइरहने समस्याका कारण नीति कार्यन्वयनमा चुनौति थपिने भन्दै सम्बन्धित क्षेत्र हेर्ने मन्त्रालय भनेर नीतिमा उल्लेख गर्नुपर्ने बताए।
उद्योग संगठनका कार्यकारी निर्देशक चूडामणि भट्टराई संघ र प्रदेशको अलग नीतिले लगानीको वातावरण बन्न नसक्ने धारणा राखेका थिए।
नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) परियोजनासँगको सहकार्यमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालको अध्यक्षतामा आयोजित छलफलमा स्टार्टअप नीति निर्माणको उद्देश्य र जिज्ञासाहरुबारे परामर्शदाता निरज खनालले सहभागीहरुलाई स्पष्ट पारेका थिए।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19