काठमाण्डौ । कोशी प्रदेशका विभिन्न ८ वटा क्षेत्रका नवउद्यमीको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँबराबरको थप लगानीको प्रतिबद्धता बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रमअन्तर्गतको लगानी सम्मेलनमा प्राप्त भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्टलगायतको सहभागितामा आयोजित लगानी सम्मेलनमा चिया, माछा, अलैँची, अचार लगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरुलाई आवश्यक पर्ने थप लगानीको प्रतिवद्धता प्राप्त भएको हो।

सम्मेलनमा सहभागी फन्ड म्यानेजमेन्ट क्षेत्र सम्बद्ध संस्थाहरुले नेपालमै बसेर नवउद्यम प्रवर्द्धनमा लागेका उद्यमीहरुलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक लगानीको प्रतिबद्धता जनाएका हुन्। कार्यक्रममा आध्यन्त फन्डअन्तर्गत ८ महिनाको अवधिमा उद्यम प्रवर्द्धन गरिएका ८ जना नवउद्यमीहरुले आफ्नो उद्यमशीलताको क्षेत्र, लगानी र अवसरहरुबारे जानकारी गराइएको थिए।

इलामको रक्तकाली टी इस्टेट प्रालिका दिनेश माझी, विराट समूहका विष्णु आचार्य, दिव्यदृष्टि वेनेरेसन एनड एग्रो कन्सर्न प्रालिका विष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योगका दीनानाथ शिवाकोटी, एग्री सेन्टर प्रालि झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रालि जोसेफ श्रेष्ठ र खेतीपाटी अर्गानिक्स प्रकृति गौतमले आफ्नो प्रस्तुति दिएका थिए।

आध्यन्त एक्सेलरेटर कार्यक्रमअन्तर्गत १० जना उद्यमीले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन्। उनीहरुमध्ये बिहीबार आयोजित कार्यक्रममा ८ जना उद्यमीहरुले आफ्नो उद्यमबारे जानकारी गराएका थिए। 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकाससमेत प्रभावित भएको बताए। उनले सबै क्षेत्रको सहयोगमा कृषि र पर्यटन क्षेत्रलाई अघि बढाउनुपर्नेमा जोड दिए। 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि क्षेत्रका विभिन्न उपक्षेत्रहरुलाई लगानी बढाउँदै लैजानका लागि प्रदेश सरकार सबैसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए। त्यसका प्रदेश लगानी प्राधिकरणले समेत आवश्यक अध्ययन गरिरहेको जानकारी दिँदै उनले कृषि क्षेत्रको विकासका लागि उपयुक्त नीति र कार्यन्वयनको विधि निर्माण गर्न प्रदेश सरकार सकारात्मक रहेको प्रतिबद्धता जनाए। 

हिमाली भेगका उत्पादन हुने उच्च मूल्यका विशेष उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागिसमेत यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले नयाँ योजनाहरु अघि सानुपर्ने सुझाव दिए। मुख्यमन्त्री कार्कीले सरकारका तर्फबाट अन्य क्षेत्रलाई कृषिलाई थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए। 

यसका साथै हिमाली र पहाडी क्षेत्रबाट बढ्दो दरमा भइरहेको बसाइसराइलाई कम गर्नका लागिसमेत कृषि क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने उनले धारणा राखे। बाटो, पुलजस्ता पूर्वाधारको विकासले मात्रै प्रदेशको विकास नहुने उनको भनाइ थियो। 

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशीलताको विकास र नवीनतम खोजलाई प्रवर्द्धन गर्दै उनीहरुको क्षमता विकासमा निजी क्षेत्रले सँधैभरी सहयोग गर्दै आइरहेको बताए। उनले राम्रो योजना बनाएर काम गर्न चाहने युवा तथा महिला उद्यमीहरुलाई महासंघले समेत प्रोत्साहित गर्दै आइरहेको जानकारी दिए। 

स्वदेशमै उद्यमशीलताको विकास भएको खण्डमा असंगठित विदेशी लगानीसमेत निरुत्साहित भई रोजगारी प्रवर्द्धनमा मद्दत पुग्ने अध्यक्ष राउतले बताए। उनले उद्यमशीलताको प्रर्वद्धनका लागि राम्रा योजनाहरु छनौट गरेर ल्याउनका लागि अध्यक्ष राउतले नवउद्यमीहरुलाई आग्रह पनि गरे।