काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मंगलबार कोशी प्रदेशको कृषि व्यापार प्रबर्द्धन रणनीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रम समापनको अवसरमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले कृषि क्षेत्रमा धेरै ठूला समस्या रहेको जानकारी दिँदै त्यसका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको बताए । उनले प्रदेशमा कृषि उत्पादनमा संलग्न किसानहरुलाई आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रको समस्या समाधान गर्न लागि पर्ने बताए । 

‘रणनीति बनेको खण्डमा प्रदेशको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पनि सहयोग पुग्छ, किनभने हाम्रो कृषि क्षेत्रको नशाहरु नै बिग्रिएका छन्, एउटा नशाको उपचार गर्यो भने अर्कोतिर समस्या आइहाल्छ’ राज्यमन्त्री महतोले भने, ‘अहिले त झन तराईका जिल्लामा भूमिगत पानीको स्रोत नै सुक्न थालेको छ, उता अर्कोतिर पानी खेर गइरहेको छ ।’ 

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि व्यापारको क्षेत्रलाई अघि बढाउन राम्रो रणनीति आवश्यक रहेकाले  छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले जबसम्म व्यापार योग्य वस्तु तथा सेवा उपलब्ध हुँदैनन् तबसम्म व्यापार सहजीकरण प्रयासले खासै अर्थ नराख्ने पनि बताए । उनले त्यसका लागि तसर्थ कृषि क्षेत्रको पनि व्यापार सन्तुलनमा महत्वपूर्ण  भूमिका रहने हुँदा कृषिजन्य वस्तु उत्पादन र उत्पादन मूल्य श्रृंखला बढाउने कार्य गर्दै कृषि उपजमा प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा जोड दिए । 

महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि क्षेत्रलाई इमान्दारिताका साथ अघि बढाउन सवै क्षेत्रको सहयोग रहनु पर्ने बताए । 
कार्यक्रममा प्रदेश लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.सरोज कोइरालाले कृषिमा लगानी बढाउने गरी सरोकारवाला क्षेत्रहरुले काम गर्नुपर्ने सुझाव दिएका थिए । 

त्यसैगरी, उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले व्यापार प्रबर्द्धन रणनीतिमा प्रस्तुत गरिएको विषयहरुलाई तथ्यांकको तथ्यगत विश्लेषणबाट यथार्थपरक बनाउनु पर्ने बताए । 

कार्यक्रममा सहज परियोजनाका परामर्शदाता रामचन्द्र बस्ताकोटी, कृषि विज्ञ डा.राजेन्द्र उप्रेति,सुन्दरहरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, कृषि अभियानकर्मी मधु राई,इनरुवा उद्योग बाणिज्य संघका अध्यक्ष विरेन्द्र कुमार साह,स्नाकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्र विभागका प्राध्यापक रामकुमार ढुंगेलले किसानको प्रतिव्यक्ति आयस्तर बृद्धि, रोजगारी सिर्जना र लगानीकर्ताको सुरक्षालाई केन्द्रीत गरेर कृषि व्यापार रणनीति बनाउनु पर्ने कुरामा जोड दिएका थिए । 

कार्यक्रममा कोशी प्रदेशका सम्ब्न्धित मन्त्रालयका अधिकृतहरु, विभिन्न उद्योग वाण्ज्यि संघहर, वस्तुगत संघहरु, कृषि व्यवसायीलगायत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमितिका सदस्यहरुको सहभागीता थियो ।