काठमाण्डौ । अर्थमन्त्री जनादर्शन शर्माले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको अवैध कारोबारले अर्थतन्त्रमा चुनौती थपिएको बताएका छन्। 

आज अर्थ मन्त्रालयमा चालु आर्थिक वर्ष २०७८/७९को अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री शर्माले क्रिप्टोकरेन्सी र प्रविधिका माध्यमबाट भइरहेको नेटवर्किङ मार्केटिङका अवैध कारोबारले अर्थतन्त्रमा चुनौती थपिएको बताएका हुन्। उनले भने, ‘हाइपर फन्ड, बेटिङ, क्रिप्टोकरेन्सीलगायत विभिन्न प्रविधिको प्रयोगले पुँजी पलायन भइरहेको छ, त्यसबारे अनुसन्धान र नियमन गर्न कमिटी बनाएर काम गरिरहेका छौँ ।’

नयाँ प्रविधिको विकास आफैँमा मानवजातिका लागि महत्वपूर्ण उपलब्धि रहेको उल्लेख गर्दै उनले त्यसका नकारात्मक पक्ष पनि रहेको बताए।