काठमाण्डौ । बैंकहरुबीच चर्को ब्याजदरमा निक्षेप तान्ने होडसँगै कर्जाको ब्याजदरले डाँडा काटेपछि त्यसको प्रत्यक्ष प्रभाव पँुजीबजारमा समेत देखिएको छ । तरलताको चरम अभावका कारण ब्याजदरमा भएको चर्को वृद्धि, पुस मसान्तसम्मको(दोश्रो त्रैमास)को कर तिर्नुपर्दा ७० अर्ब बढी रकम राजश्वको रुपमा दाखिला गर्नुपर्ने अवस्था, लगानीकर्ताहरु नयाँ सरकार गठन र दोश्रो त्रैमासको वित्तीय विवरणको पर्खाईमा बस्नु लगायतका कारणले सेयर बजारमा यो साताको पहिलो दिन समेत भीषण पहिरो गएको छ । यो दिन बजार परिसूचक २४.२ अंकले घटेर विगत ६ महिनाकै न्यून १३९०.५८ विन्दूमा सीमित बन्न पुुगेको छ । 

यो दिन बजारमा होटल बाहेकका सबै सूचकमा पहिरो गयो । बैकिंग समूह १६.३५ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ८३.९, १६.७७ र ३७.५२ अंकको गिरावट आयो । यो दिन जलविद्युत समूह १२.२६ अंकले घट्यो भने बित्त समूह ३.२१, व्यापारिक समूह ४.३९, उत्पादनमूलक ८ र अन्य समूह ५५.८१ अंकले घट्यो । होटल समूहमा भने ४.८८ अंकको वृद्धि देखियो । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स ५.५ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि १.४४ अंकले घट्न पुुग्यो । 

धेरै कारोबार गर्ने कम्पनी
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएसँगै कारोबार रकममा पनि पहिरो गएको छ । बजारको भविष्यका लागि सूचक र कोरोबार रकम दुवैमा पहिरो जानुु नराम्रो संकेत हो । बजारको यस्तो प्रवृति जारी रहे भविष्यमा बजारमा अझ ठूला पहिरो जाने संभावना रहन्छ । 

यो दिन बजारमा १ सय ५८ कम्पनीका १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयर ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी एनसीसी बैंकको ९ करोड ६९ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, प्रभूू बैंकको ३ करोड ७८ लाख बढीको संस्थापक सेयरको समेत कारोबार भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले २ करोड बढी, नबील बैंकले १ करोड ९८ लाख बढी, नागरिक लगानीकोषले १ करोड ९० लाख बढी, महुली सामुदायिक लघुवित्त संस्थाले १ करोड ६८ लाख बढी, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४६ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३९ लाख, नेपाल टेलिकमले १ करोड ३६ लाख र नेपाल बैंक लिमीटेडले १ करोड ३२ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पोखरा फाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भयो । सबैभन्दा धेरै नेपाल टेलिकमका लगानीकर्ताले गुमाए । यो कम्पनीको मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो । श्री इन्भेष्टमेन्ट फाइनान्स, वरुण हाइड्रोपावर र डिप्रोक्स डेभलपमेन्ट बैंक लिमीटेडले समेत साढे ६ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाए ।