– अर्जुन तिमिल्सिना

काठमाण्डौ। चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकले सेयर बजारमा क्लोजआउटको समस्या झनै बढ्दै गइरहेको देखाएको छ। 

सीडीएससीबाट प्राप्त चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) को तथ्यांकअनुसार क्लोजआउटबापत जरिवनाको रकममा उल्लेखनीय वृद्धि भएको देखिएको छ। यो अवधिमा क्लोजआउट जरिवानाबापत लगानीकर्ताहरुले ७ करोड ३९ लाख ३८ हजार २५५.३१ रुपैयाँ तिरेका छन्। जरिवानाबापतको रकम गत वर्षको यही अवधिसम्म ५ करोड ७७ लाख २४ हजार २०८.९८ रुपैयाँमात्र थियो। यो हिसाब क्लोजआउटबापतको जरिवाना रकममा २८ प्रतिशतले बढेको देखिन्छ। 

सीडीएससीका अनुसार क्लोजआउटमा पर्ने लगानीकर्ताको संख्यामा पनि बढोत्तरी आएको छ। गत अर्थिक वर्ष यही अवधिमा क्लोजआउटमा पर्नेको संख्या ७ हजार ४५० रहेकोमा यो वर्ष बढेर ९ हजार ९७८  पुगेको छ। जुन ३३ प्रतिशतले बढी हो। 

चालु आर्थिक वर्षको ६ महिनामा ६ लाख ७६ हजार ४२७ कित्ता सेयर कारोबारमा लगानीकर्ताहरु क्लोजआउटमा परेको सीडीएससीले जनाएको छ। गत वर्ष यही अवधिमा ६ लाख ७७ हजार ४३९ कित्ता सेयर कारोबारमा लगानीकर्ताहरु क्लोजआउटमा परेका थिए। 

लगानीकर्ताले सेयर बेचेर समयमै ईडीआईएस (हस्तान्तरण) नगर्दा वा आफूसँग हुँदै नभएको सेयर वा भएभन्दा बढी सेयर बिक्री गर्दा क्लोजआउटबापत २० प्रतिशत जरिवना तिर्नुपर्छ। यस्तो जरिवानाबापतको रकम लगानीकर्ताले पाउने गर्छन्। 

हालको ‘टी प्लस १’ को सेटलमेन्ट प्रक्रियाअन्तर्गत लगानीकर्ताले सेयर बिक्री गरेपछि ईडीआईएस (सेयर हस्तान्तरण) २४ घन्टाभित्रै गर्नुपर्छ। त्यस्तै सामान्यतया किनेको सेयर लगानीकर्ताको खातामा रकम भुक्तानीको तेस्रो दिनसम्म जम्मा हुने गरेको छ।