– अनन्त्य सुन्दर
काठमाण्डौ । पछिल्लो समय सेयर बजारको आकर्षण बढ्दो छ। केही दिनअघि खुलेको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा झन्डै २१ लाख लगानीकर्ताले आवेदन दिएका छन्। अहिले कुल जनसंख्याको झन्डै १५ प्रतिशतले प्रत्यक्ष साथै अप्रत्यक्ष रूपमा सेयर बजारमा लगानी गर्दै आएका छन्। बजार पुँजीकरण पनि झन्डै ४० खर्ब पुगेको छ।
पहिलाको तुलनामा अहिले सेयर बजारमा लगानी गर्न धेरै नै सहज भएको छ। पुँजी बजार अहिले अधिकांश नागरिकको पहुँचमा छ। तर आजभन्दा १० वर्षअघि सेयर बजारमा लगानी गर्न त्यति सहज थिएन। आईपीओका लागि आवेदन दिन नै घन्टौँ लाइनमा बस्नुपथ्र्यो। सेयर खरिदबिक्री गर्न पनि २–३ दिन ब्रोकर अफिसमा धाउनुपथ्र्यो।
बजारका सक्रिय युवा लगानीकर्ता क्षितिज मल्लले आजभन्दा १४ वर्षअघि सेयर बजारमा लगानी यात्रा सुरु गरेका थिए। अन्य लगानीकर्ताजस्तै उनको लगानी यात्रा आईपीओबाट सुरु भएको थियो।
वि.सं २०६४ सालतिर बैंकमा काम गर्ने एकजना दाइले आईपीओ हाल्न क्षितिजलाई सुझाव दिए। उनले आईपीओबाट नाफा हुन्छ भन्ने सुनेको थिए। बेच्ने कसरी ? कस्तो कम्पनीमा लगानी गर्ने ? कसरी नाफा हुन्छ ? भन्नेबारे उनलाई केही ज्ञान थिएन।
क्षितिजले त्यसबेला सिटिजन इन्टरनेसनल बैंकको आईपीओमा आवेदन दिए। सिटिजन इन्टरनेसनल बैंकको आईपीओबाट लगानी सुरु गरेका उनी अहिले बजारको सक्रिय लगानीकर्ताका रूपमा परिचित छन्।
‘म ब्याचलर दोस्रो वर्षमा हुँदा बुवाको निधन भयो। घरको एकमात्र सन्तान भएकाले मेरो काँधमा जिम्मेवारी थपियो’, उनी भन्छन्, ‘त्यसबेला म ब्याचलरमा नै थिए, ठूलो लगानी गरेर व्यवसाय गर्ने आँट पनि आएन। मैले त्यसबेला नै सेयर बजार आम्दानीको राम्रो स्रोत बन्न सक्ने बुझेको थिए। बजारमा लगानी गर्दा समय पनि धेरै दिनुपर्दैन थियो। मेरो पढाइलाई पनि असर नगर्ने भएकाले सेयर बजारमा नै आफ्नो करियर बनाउने सोची २०६८ सालमा दोस्रो बजार प्रवेश गर्ने निर्णय गरेँ।’
त्यसबेला क्षितिज ललितपुरमा बस्थे। अहिलेजस्तो सामाजिक सञ्जालमा सेयरबारे छलफल त्यसबेला हुँदैन थियो। ‘त्यसैले म कुपन्डोलस्थित २२ नम्बर ब्रोकरकोमा धाउन थालेँ’, उनले भने, ‘त्यतिबेला सेयरबारे सिक्ने सबैभन्दा उपयुक्त ठाउँ नै ब्रोकर अफिस थियो। बिहानको कलेज सकेर म दिनभरि ब्रोकर अफिसमा हुन्थे। सेयरबारे केही थाहा थिएन मलाई। त्यसैले अरूलाई के भनेर आफ्नो जिज्ञासा राख्ने ? पनि थाहा भएन।’
क्षितिज महिनौँसम्म ब्रोकरकोमा धाए। एउटा कुनामा दिनभरि बस्थे। स्क्रिन हेर्थे अनि कोठामा फर्किन्थे। ‘स्क्रिनमा भएका अक्षरहरू बुझ्न नै मलाई महिनौँ लाग्यो’, उनी भन्छन्।
त्यतिबेला बजारबारे बुझ्ने एकमात्र उपाय अन्य लगानीकर्ताको गफ सुन्ने थियो। त्यसैले उनी अरूको गफ सुनेर नै बजार बारे बुझ्दै गए। उनले विस्तारै दोस्रो बजारमा पनि लगानी गर्ने निधो गरे। तर कुन कम्पनी किन्ने ? कम्पनीमा लगानी गर्दा के–के हेर्नुपर्छ ? भन्नेबारे उनी अनभिज्ञ थिए। त्यसैले उनी ब्रोकर अफिसमा हुने लगानीकर्ताको छलफलको अनुसरण गर्न सुरु गरे। मल्ल भन्छन्, ‘त्यस बेला बैंकमा लगानी सुरक्षित हुन्छ भन्दै सबैले बैंक किन्ने सुझाव दिन्थे। त्यसैले मैले पनि घरमा आमासँग पैसा मागेर एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा लगानी गरेँ।’
क्षितिजले दोस्रो बजार प्रवेश गर्दा भर्खर बजार बढ्न सुरु गरेको थियो। त्यसैले उनलाई ६–७ महिनामा नै राम्रो नाफामा सेयर बेचे।
क्षितिजलाई विस्तारै बजारको लत लाग्दै गयो। त्यसैले बजारबारे आफ्नो अध्ययन बढाउँदै गए। कम्पनीको वार्षिक साथै त्रैमासिक रिपोर्टहरू नि हेर्न सुरु गरे। कम्पनीको रिपोर्ट अध्ययन गर्ने क्रममा नै उनको आँखा स्वावलम्बन लघुवित्तमा गयो। ईपीएस राम्रो हुनुका साथै लाभांश पनि राम्रो दिने उक्त लघुवित्त उनलाई सस्तो लाग्यो। त्यसैले आफ्नो सबै पैसा स्वावलम्बनमा लगानी गरे। उनले लोन लिएर पनि थप सेयर खरिद गरे। उनले ९०० मा किनेको उक्त सेयर ३२०० सम्म पुग्यो। तर सेयरको मूल्य अझै बढ्छ भन्ने सोचेर उनले बेच्न सकेनन्। ‘कुन बेला किन्ने ? भन्ने कुरा लगानीकर्तालाई सजिलै थाहा हुन्छ। तर जो लगानीकर्तालाई कुन बेला बेच्ने ? भन्ने थाहा हुन्छ, उसले नै हो बजारबाट धेरै कमाउने’, क्षितिज भन्छन्, ‘मैले बियरिस बजार देखेको थिइनँ। सेयर बजार पनि घट्छ र ? भन्ने लाग्थ्यो। तर नेपाली बजारमा बियरिस ट्रेन्ड सुरु भयो। आजमात्र घटेको होला, भोलि त बढ्छ भन्दा–भन्दै नेप्से १८०० हाराहारीबाट ११०० सम्म आयो। मैले किनेको स्वावलम्बनको सेयर मूल्य ११०० भयो। ९०० मा किनेको साथै लाभांश पनि राम्रै आएकाले घाटा नै त भएन। तर जति नाफा कमाउन सक्थे त्यति कमाउन सकिन।’
क्षितिजले बियरिस बजारलाई सिकाइको मौकाका रूपमा लिए। उनले युट्युब, गुगलका साथै विभिन्न पुस्तकको सहयोगले प्राविधिक विश्लेषण पनि अध्ययन गर्दै गए। ‘यदि कोही विद्यार्थी कक्षामा ध्यान दिएर सुन्छ भने उसले घरमा आएर धेरै मेहनत गर्नुपर्दैन, बजार पनि त्यस्तै हो। ११ देखि ३ बजेसम्म बजार हेर्ने हो भने बजार बारे धेरै कुरा थाहा हुन्छ’, मल्ल भन्छन्, ‘सेयर बजार पौडी खेले जस्तै हो। पौडी कसरी खेल्ने? भनेर तपाइँलाई सबैले भन्न सक्छन्। तपाइँले पुस्तकमा नि पढ्न सक्नु हुन्छ। तर तपाइँले पौडी सिक्नका लागि पानीमा नै हाम फाल्नुपर्छ। आफै आफ्नो हात–खुट्टा चलाउनुपर्छ। बजारमा नि तपाइँ अरूको कुरा सुने पनि लगानी गरेर आफैँ सिक्न आवश्यक छ।’
विगतको १–२ वर्ष हेर्ने हो भने नेपाली सेयर बजारमा धेरै सुधार भएको क्षितिजको ठम्याइ छ। टीएमएस, मेरो सेयर, कनेक्ट आईपीएसलगायत अन्य सिस्टमहरूको विकाससँगै अहिले लगानी गर्न धेरै नै सहज भएको उनले बताए। ‘तर बजारमा सुधार गर्न सकिने ठाउँहरू अझै पनि धेरै छन्। दैनिक कारोबार रकम १८–२० अर्ब रुपैयाँसम्म पुग्यो’, उनले भने, ‘त्यसैले ब्रोकरलाई पनि लगानीकर्तालाई भने जस्तो सेवा दिन गाह्रो भएको देखिन्छ। नयाँ ब्रोकर थप गर्दा लगानीकर्ता साथै ब्रोकरलाई पनि सेवा दिन थप सहज हुन्थ्यो। त्यसैले नेप्से, धितोपत्र बोर्डलगायत अन्य नियामक निकायले ब्रोकर संख्या थप्ने प्रक्रिया अघि बढाउन अत्यावश्यक छ।’
सेयर बजारलाई धेरैले ‘जुवा घर’ र अनुत्पादक क्षेत्र पनि भन्ने गरेका छन्। ‘मेरो विचारमा जसले सेयर बजारबारे बुझ्नु भएको छैन, उहाँहरूले नै त्यस्तो भन्ने हो’, क्षितिज भन्छन्, ‘मलाई पनि विगतका दिनहरूमा धेरैले सेयरमा लगानी नगर्ने सुझाव दिनुहुन्थ्यो। तर विडम्बना अहिले उहाँहरूले नै मलाई कुन सेयर किन्नु? भन्दै मेसेज गर्नु हुन्छ।’
सेयर बजारलाई नै करिअर बनाएर फुल टाइम लगानी गर्ने सोचकाहरूको भविष्य उज्ज्वल रहेको क्षितिजको भनाइ छ। ‘त्यसका लागि लगानीकर्तामा ३ कुराहरू अत्यावश्यक छ– अध्ययनशील, धैर्यता र आफ्नो लगानीमा विश्वास’, सुझाव दिँदै उनी भन्छन्, ‘तर अहिले बजारमा धेरैजसो लगानीकर्ता आफ्नो लगानी गुमाउने डरले हल्लाको पछि लागेर सेयर किन्नु हुन्छ। त्यसो गर्नाले केही पैसा त कमाइएला तर बजारबाट आफूले केही सिकिँदैन। बजारबाट आज जसले सिक्छ, उसले नै भोलिको दिनमा बजारबाट कमाउँछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago