-प्रकाश बञ्जारा
यूएई । शेयरमा बुझेर लगानी गरे भविष्यमा राम्रो मुनाफा गर्न सकिने भएता पनि प्रवासका धेरै नेपाली शेयरको बारेमा जानकार नभएको पाइयो, तर यही भिडमा एक नेपाली भेटिए, जो आफ्नो ड्यूटीको बेला पनि घरिघरि मोवाइल इन्टरनेटबाटै आफूले लगानी गरेको कम्पनीको शेयरमूल्य कति पुग्यो, कति फाइदा भयो भनेर हिसाबकिताब गरिरहेका भेटिए । 
कुरा प्युठानमा जन्मेर दाङमा हुर्केका निमबहादुर शाहीको हो । ४९ वर्षीय शाही कामको शिलशिलामा युएई आएको पनि २० बर्ष पुगेछ । अझै पनि केही बर्ष प्रवासमै खर्चिने योजनामा रहेका शाहीले हामीसँग आफ्नो शेयर बजारको अनुभवलाई झर्को नमानी साटे ।
पछिल्लो समय काठमाण्डौबासी शाहीसँग हामीले युएईको दुवईमा भेट्यौं र उनका शेयर बजारका अनुभव र अनुभूतिका कथा सुन्यौं ।
कुनै कामको सुरुवात गर्ने सबैको आफ्नै खालको कथा हुन्छ । निमबहादुर शाहीको कथा भने यसरी सुरु भएको रहेछ: छुट्टि मनाउन युएईबाट घर गएको समयमा बागबजारतिर घुम्दै गर्दा एउटा पम्प्लेटसँग भेट भएछ, एनसीसी बैंकको त्यो पम्प्लेटमा एनसिसि बैकले शेयर खुलाएकोले लगानीकर्तालाई उत्साहित पार्न ‘आजको रोपाँई भोलीको कटाई’ भनेर लेखिएको थियो रे । यो के होला, कसरी आजको रोपाँई भोलीको कटाई सम्भव होला ? भन्ने खुल्दुलीसँगै एउटा पम्प्लेट बोकेर शाही घर पुगेछन् र भोलिपल्ट कुरा बुझ्न पम्प्लेटमा दिइएको ठेगाना पहिल्याउँदै शेयरको आवेदन गर्ने ठाउँमा पुगेछन् । यसले उनलाई लगानी गर्न हौसला दिएछ, घरमा गएर सल्लाह पनि गरेछन्, तर घरबाट त्यत्ति सकारात्मक सल्लाह पाउन सकेनन् । तर उनलाई उत्सुकता भयो, कसरी आजको रोपाई भोलीको कटाई सम्भव हुन्छ त ? अन्ततः आफ्नै एकल निर्णयमा १ लाख रुपैयाँ बराबरको सेयरका लागि आवेदन दिएर फर्किएछन् ।
केही दिनमा आईपिओ बाँडफाड भयो, उनको भागमा ७० हजार बराबरको ७ सय कित्ता साधारण सेयर परेछ । शेयर लगानी गरेको प्रमाणपत्र पनि मिलेछ, एक हिसाबले त्यत्रो ठूलो बैंकको सेयरधनी हुन पाएकोमा उनलाई गर्व लागेछ ।
फेरि २ वर्ष पछि कम्पनीले सतप्रतिशत हकप्रद शेयर दिएछ । त्यसपछि उनी विस्तारै सेयर बजारमा नियमित चासो राख्दै अन्य कम्पनीका आइपिओतिर पनि ध्यान दिन थालेछन् ।
हल्लाको भरमा शेयर बजारमा जाँदा र कम्पनीको प्रोफाइल राम्रोसँग नहेरी लगानी गर्दाको अनुभव पनि निमले राम्रोसँग लिएको बताए ।
सबैले जलविद्युतको सेयरमा राम्रो फाइदा हुन्छ भनेको सुनेर उनले पनि नेशनल हाइड्रोमा लगानी गरेका रहेछन् । आइपिओमा खरिद गरेको उनको नेशनल हाइड्रोको सेयरमा प्रतिकित्ता कुनै एक समय त झण्डै ४० रुपैयासम्म तल झरेको सुनाए । “हाइड्रो भनेपछि मान्छेहरु हुरुक्क हुन्छन् तर सबै हाइड्रो राम्रो हुन्छन् भन्ने छैन।’ निमले भने । तर पनि देशमा बिजुलीको समस्या बढी भएको र माग पनि राम्रो भएकाले घाटाको सम्भावना कमै हुन्छ । फेरि दोश्रो बजारमा कम्पनीको सेयरमूल्य बढ्नुमात्र नाफा हैन, कम्पनीले निरन्तर दिने गरेको लाभाँश र आफू पनि कम्पनीको शेयरधनी हुँ भन्ने कुरा समेत लगानीकर्ताले सम्झिनु पर्छ । कम्पनीको आय व्याय राम्रो नहेरेसम्म कुनै पनि कम्पनीको सेयरमा लगानी गर्न नहुने निमको सुझाव छ ।
शेयर बजारमा पस्न पहिले तालिम अनिवार्य लिनुपर्ने निम बताँउछन् । तर उनको हकमा भने त्यो लागू भएन । त्यसैले थुप्रै हण्डरहरु खाएको अनुभव उनीसँग छ । पहिले साधारण सेयर खरिद गर्दा तालिम नलिएको भएता पनि दोश्रो बजारमा जानुपूर्व भने निमले पनि शेयरबजारको तालिम लिएका रहेछन् । आफू बार्षिक विदामा गएकै बखत बागबजारमा गएर रविन्द्र भट्टराईसँग तालिम लिएर दोश्रो बजारमा लगानी सुरुवात गरेको निमले बताए ।
अनुभवका आधारमा कम्पनीको कम्तीमा ३ महिनाको आयव्याय, कर्मचारीको काम गर्ने शैली, संचालक समिति, संस्थागत सुशासन, लाभांशको इतिहास आदि जस्ता कुरा कस्तो छ भनी हेर्ने गरेको सुनाए ।
अचम्मको शुरुवातबाट शेयरबजारमा प्रवेश गरेका निमको परिवार पूरै अहिले सेयर बजारमा छ । शुरुमा लगानी गर्ने प्रस्ताव लिएर जाँदा डराएर लगानी नगर्न सल्लाह दिने निमकी धर्मपत्नी आफैं हिजोआज राम्रो कम्पनीको सेयर खुल्नासाथ लगानी गर्न फाराम भर्ने गर्छिन् । यस्तै, निमका दुवै भाई छोराको नाममा समेत कुनै न कुनै कम्पनीको सेयर छ ।
हालै बाँडफाँड भएको माथिल्लो तामाकोशीको शेयरमा समेत उनीहरुले लगानी गर्न भ्याएछन् । आज निम र उनको परिवारका नाममा एनसिसि सहित सानिमा बैंक, हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, बुटवल पावर, चिलिमे जलविद्युत आयोजना, नेशनल हाइड्रो, खारे खोला जलविद्युत आयोजना, केरुङ्ग खोला आयोजना जस्ता कम्पनीमा लगानी रहेछ ।
सरदर ७० लाखको शेयर लगानी गरेका निम शेयर बजार पूर्ण स्वचालित प्रणालीमा जाने भएपछि निकै उत्साहित छन् ।
अब बिना झञ्झट विदेशबाटै लगानी गर्न सकिन्छ र शेयर बजारमा अनलाईनबाटै लगानी गर्न मिल्ने भएपछि पैसा समेत सिधै बैंकिङ्ग च्यानलमा जाने र हुण्डि लगायतका कारोबारमा कमी आउने निमको ठम्याई छ । ‘अनलाइन र यहाँ बसेरै लगानी गर्नसक्ने भएपछि अनावश्यक खर्चलाई समेत कन्ट्रोल गरेर थोरै भए पनि सेयरमा हाल्न सकिन्छ, जसले भोलिका दिनमा राम्रो काम गर्न सक्छ ।’ निम भन्छन् ।
अहिले लगानीको अवस्थालाई नियाल्दा निमले विश्वास गर्ने क्षेत्र भनेको बैंक तथा वित्तीय कम्पनीहरु नै हुन् । ‘सधै हुन्छ भन्ने हुँदैन, सेयर बजारमा आज छिरेर भोलि नै पैसाको पोको लिएर बाहिर जान्छु भन्ने हैन, निश्चित समयको योजना बनाएर अगाडि बढ्नुपर्छ, अहिले नभए पनि पछि हुन्छ ।’ आत्मविश्वासका साथ निम भन्छन् ।
शेयर बजारलाई तल झार्न विभिन्न समूहहरुले अर्थमन्त्रीको अभिव्यक्तिलाई दोष दिइरहेका बेला निम भने कसैको अभिव्यक्तिले बजारलाई घट्न र बढ्नमा सहयोग नगर्ने भनाई राख्छन् । हिजोको दिनमा स्थिर सरकार नभएर तथा सरकारले सेयरबजारलाई चासो नदिँदा बजार केही घटेको भए पनि अब भने त्यो समस्या नहुने उनको दाबी छ ।
परिश्रम गरे अमेरिका, क्यानडा, जर्मनी जस्ता युरोप तथा अमेरिकाका देशभन्दा राम्रो कमाई दुवईमै हुन्छ भन्ने विश्वास राख्ने निम आफ्नो काम जे भए पनि मनैदेखि गर्नुपर्ने कुरामा विश्वास राख्छन् ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19