काठमाण्डौ । लामो समयपछि सेयर बजार खुलेको तेस्रो दिन बुधबार पनि उछाल आएको छ।

कोरोबार सुरु भएको १३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको उछालसँगै नेप्सले २० मिनेटका लागि कारोबार रोकेको छ।

कारोबार सुरु भएको १ घन्टाभित्रै ४ प्रतिशतको बढोत्तरी आएपछि नेप्सेले पोजेटिभ सर्किट लगाउँदै कारोबार २० मिनेटका लागि स्थगित गरेको हो। योसँगै नेप्से परिसूचक ५०.१८ अंकले बढ्दै १३१०.९३ को विन्दुमा पुगेको छ।
पहिलो सर्किटसम्म नेप्सेमा सूूचिकृत कम्पनीहरु मध्ये ९६ कम्पनीका १४ करोड  ३९ लाख रुपैयाँ रकम हाराहारीको कारोबार भएको छ। यो बेलासम्म चारवटा कम्पनी नागरिक लगानी कोष, नेसनल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ भने अधिकांश कम्पनीको सेयरमूल्य बढेको छ।

हिजो पनि कारोबार सुरु भएको पहिलो घन्टाको ४८ मिनेटमै ४ प्रतिशत बढेर पहिलो पोजेटिभ सर्किट लागेर २० मिनेट कारोबार स्थगित, त्यसपछि १२ बजेर १७ मिनेटमा ५ प्रतिशत बढेर दोस्रो पोजेटिभ सर्किट ४० मिनेट कारोबार स्थगित र १ बजे ६ प्रतिशत बढेर तेस्रो पोजेटिभ सर्किट लाग्दै कारोबार स्थगित हुन पुगेको थियो।

निरन्तर कारोबार सुरु भएको एक घण्टाभित्र (११ देखि १२ बजेभित्र) नेप्से परिसूचक ४ प्रतिशतले घटी वा बढी भएमा २० मिनेटका लागि, कारोबार सुरु भएको दोस्रो घण्टाभित्र (१२ देखि १) नेप्से परिसूचक ५ प्रतिशतले घटी वा बढी भएमा ४० मिनेट र निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक ६ प्रतिशतले घटी वा बढी भएमा सो पश्चात सो दिनको कारोबार बन्द हुन्छ।