काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णता तथा शीघ्र सञ्चालनका लागि आग्रह गरेका छन् ।

बुधबार बागलुङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा कालीगण्डकी कोरिडोर र मध्य पहाडी लोकमार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ जिल्लाको समृद्धिमा ठूलो टेवा पुग्ने बताए। 

गण्डकी प्रदेश भौतिक रूपमा दुई ठूला छिमेकी भारत र चीनसँग जोडिएको तथा  पोखरा, मनाङ, मुस्ताङ, काल गण्डकी र हिमालदेखि लिएर बागलुङको ढोरपाटनजस्ता कैयौं अद्वितीय पर्यटकीय क्षेत्रहरू समेटिएकाले यसबाट फाइदा लिन थप प्रयत्न गर्नुपर्ने पनि अध्यक्ष ढकालले बताए। 

दक्षिणी छिमेकीको करिब १ अर्ब मानिसको आस्थाको केन्द्र मुक्तिनाथ मुस्ताङ प्रवेश गर्ने गेट वे पनि बागलुङ भएकाले यसको थप  प्रवर्द्धन  गर्नुपर्ने पनि अध्यक्ष ढकालले बताए ।
 

बागलुङको पर्यटकीय सम्भावनाको चर्चा गर्दै अध्यक्ष ढकालले पोखरा आएका कम्तीमा पनि आधा पर्यटक पर्वत, बागलुङ बास बस्दै मुस्ताङ पुर्‍याउन सकिने योजना बनाएर काम गर्ने गरी जुट्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

पर्यटन प्रवर्द्धनबाट नै स्थानीय उत्पादन र उद्यमशीलताको पनि विस्तार र विकास गर्न सकिन्छ भन्ने तथ्य बुझेर आवश्यक पर्यटन पूर्वाधारको निर्माण गरी छिमेकको विशाल पर्यटन बजारलाई आकर्षित गर्नुपर्ने उनले बताए । 

सो अवसरमा अध्यक्ष ढकालले बागलुङ महोत्सवमा सहभागी भएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद समेत व्यक्त गरे ।
अध्यक्ष ढकाल सम्मानित
यसैबीच, बागलुङ महोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरिएको छ । 

 

उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अध्यक्ष ढकाल सम्मानित भएका हुन् ।