काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर  पेश भएको रिट बिहीबार दर्ता गरेको छ ।

अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित चार जनाले आज सर्वोच्चमा रीट दर्ता गरेका छन्।

गभर्नर सो पदमा रहन योग्य नरहेको दाबीसहित गत कात्तिक ३ गते पेश गरिएको सो रिट बुधबार मात्र सर्वोच्चको रजिष्टारले दर्ता गर्ने अनुमति दिएका थिए। 

रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले उक्त रिटको पेसी शुक्रबार बिहान १० बजेका लागि तोकेको छ ।

 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर, गर्भनर अधिकारीको योग्यता ऐन बमोजिमको नभएको हुँदा उक्त पदको लागि योग्य नहुने भन्दै उनको नियुक्ति बदरको माग गरिएको छ । गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको दाबी रिटमा छ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यताको विषयमा यसअघि पनि लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृतले सर्वोच्चमा रिट हालेका थिए । तर सर्वोच्चले उक्त रिट खारेज गरिदिएको थियो । सरकारले उनलाई गत २०७६ चैत २४ गते गभर्नर पदमा नियुक्त गरेको थियो ।