रुकुम । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन्। 

नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले गरिबी र अभावको अन्त्य गरेरमात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताएका हुन्। ‘गरिबहरुको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान सम्भव छैन’, उनले भने, ‘समग्र विकास र सम्पन्नताको जगमा मात्र समाजवाद खडा हुनसक्छ।’ 

मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै शर्माले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको जानकारी दिए। 

अबको पाँचदेखि सात वर्षभित्र रुकुममा गरिबीको अन्त्य गरी समाजवादको आधार तयार पारिने भन्दै शर्माले उक्त लक्ष्य प्राप्त गर्ने गरी सक्रिय हुन पार्टी कार्यकर्ता र आम जनसमुदायलाई आग्रह गरे। 

कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन गरिने शर्माले बताए। उनले गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयहरुलाई उद्यमशील बनाउने नीतिअन्तरगत सरकारले पढ्दै कमाउँदै कार्यक्रम ल्याएको बताए। ‘कम्तीमा १२ कक्षा उत्तीर्ण विद्यार्थी स्वरोजगार हुने खालको शिक्षा नीति सरकारले ल्याएको छ। आगामी शैक्षिकसत्रदेखि देशका विभिन्न स्थानमा ‘डिजिटल लर्निङ सेन्टर’हरु स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित पठनपाठन गराउने तयारी रहेको छ’, उनले भने। 

सरकारले पहिलोपटक गरिब र विपन्नलाई सम्झेर पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण गर्न लागेको, दीर्घ रोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने निर्णय कार्यान्वयनमा आउन लागेको, घाइते अपांगता भएका व्यक्तिहरुलाई उपचार खर्च दिन लागिएको, राजनैतिक आन्दोलनका सहिद परिवारहरुलाई मासिक ३ हजारका दरले जिवनवृत्ति प्रदान गर्न लागिएको, हरेक पालिकाहरुमा कम्तीमा ५०० युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइएको, कृषि बीमाको प्रिमियम अनुदान ८० प्रतिशत पुर्याइएकोलगायतका दर्जनौँ जनमुखी कार्यक्रम ल्याइएको  मन्त्री शर्माले जानकारी दिए। 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य र संगठन विभाग प्रमुखसमेत रहेका शर्माले देशमा अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए। देशमा राजनीतिक स्थायित्व कायम गर्नका लागि यस्तो प्रणाली जरुरी भइसकेको मन्त्री शर्माको भनाइ छ।