-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपालका विकास बैंकहरुमध्ये पछिल्लो समय सेयर बजारका लगानीकर्ताहरुको रोजाईमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक पर्ने गरेका छन् । 

अहिले बजार घटेर कम्पनीहरुको सेयरमूल्य न्यून अवस्थामा आएको बेला लगानीकर्ताहरुले राम्रा र बलिया विकास बैंकहरुमा दीर्घकालीन लगानी गर्दा उपयुक्त हुने देखिन्छ । 

आज हामीले माथि उल्लेख गरिएका तीन विकास बैंकको प्राविधिकरुपमा मूल्यमा हुनसक्ने उतारचढावलाई विभिन्न प्राविधिक पक्षमार्फत नियाल्ने कोशिश गरेका छौं । 

गरिमा विकास बैंक 


राष्ट्रिय स्तरको यो विकास बैंक धेरै लगानीकर्ताहरुको रोजाइमा पर्न सफल बैंक हो । गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिबेदनअनुसार यो बैंकको चुक्तापुँजी ५ अर्ब १८ करोड रुपियाँ छ । रिटेन अर्निङ ५५ करोड ७२ लाख रुपियाँ रहेको छ । कम्पनीको रिजर्बमा २ अर्ब रुपियाँ रहेको छ । कम्पनीको खुद मूनाफा १ अर्ब २१ करोड रुपियाँ रहेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी २३.४७ रुपियाँ रहेको छ । बुकभ्यालु १४९.५ रुपियाँ रहेको छ भने रिटर्न अन इक्विटी १५.७ प्रतिशत छ । कम्पनीको खराब कर्जा अनुपात १.५५ प्रतिशत छ ।

इलिअट वेभमा बजार तथा कम्पनीको मूल्य माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

गरिमाको सेयर भाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फ्रेमको वेभ ३ चल्दै गरेको देखिन्छ । कम्पनीको न्यून मूल्य ३६६ रुपियाँदेखि ४०० सम्म वेभ १, सामान्य करेक्सन भएर वेभ २ मा ३७० सम्म र वेभ ३  मा बढोत्तरीका साथ ४२५ रुपियाँसम्म र वेभ ४ मा करेक्सन भएर पुनः ४१० सम्म आउनसक्छ । 

त्यसपछि यो कम्पनीको सेयरमा बढोत्तरी आँउदा वेभ ५ को बढोत्तरी हुनसक्ने देखिन्छ । त्यो भनेको गरिमा बैंकको सेयरमूल्य ४५० रुपियाँसम्म पुग्नसक्ने देखिन्छ । 

यो कम्पनीको दोस्रो बजारको अन्तिम कारोबार मूल्य ३९० रुपियाँ रहेको छ । 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक


गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदनअनुसार शाइनको चुक्तापुँजी ४ अर्ब २८ करोड रहेको छ । कम्पनीको रिटेन अर्निङ ४८ करोड ६८ लाख रुपियाँ रहेको छ । कम्पनीको जगेडाकोषमा १ अर्ब ४२ करोड रुपियाँ रहेको छ ।

कम्पनीको खुद मूनाफा ७८ करोड ६८ लाख रुपियाँ रहेको छ । वितरणयोग्य मुनाफा ४८ करोड ६७ लाख रुपियाँ रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी १८.३७ रुपियाँ रहेको छ । बुक भ्यालु  १४४.६२ रुपियाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी १२.७ प्रतिशत रहेको छ । खराब कर्जा १.८१ प्रतिशत रहेको छ  । 

यो कम्पनीको सेयर भाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फ्रेमको वेभ ३ चल्दै गरेको देखिन्छ । कम्पनीको न्यून मूल्य २२४ रुपियाँदेखि ३१३ सम्म वेभ १ , सामान्य करेक्सन भएर वेभ २ मा २३७ सम्म, वेभ ३  मा बढोत्तरीका साथ ३८१ रुपियाँसम्म र वेभ ४ मा करेक्सन भएर पुनः ३१२ सम्म आउनसक्छ । त्यसपछि  यो कम्पनीको सेयरमा वेभ ५ को बढोत्तरी हुनसक्ने देखिन्छ । त्यो भनेको ४६० रुपियाँसम्म भन्ने हो । हाल दोस्रो बजारमा यो कम्पनीको अन्तिम बिक्री मूल्य ३८३ रुपैयाँ प्रतिकित्ता रहेको छ । 

मुक्तिनाथ विकास बैंक 


गत आथिक वर्षको चौथो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड रुपियाँ रहेको छ । 

कम्पनीको रिटेन अर्निङ ६४ करोड ४० लाख रुपियाँ रहेकोे छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ३७ करोड रुपियाँ रहेको छ । 

कम्पनीको खुद मूनाफा १ अर्ब ३६ करोड रुपियाँ रहेको छ । कम्पनीको प्रतिसेयर  आम्दानी २१.२४ रुपियाँ रहेको छ । 

बुक भ्यालु १४७  रुपियाँ रहेको छ । रिटन अन इक्विटी १४.४५ प्रतिशत रहेको छ । खराब कर्जाको अनुपात ०.८९ प्रतिशत रहेको छ । 

यो कम्पनीको सेयरभाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फ्रेमको वेभ ३ चल्दै गरेको देखिन्छ । कम्पनीको न्यून मूल्य ३८० रुपियाँदेखि ४१०  सम्म वेभ १, सामान्य करेक्सन भएर वेभ २ मा ३९० सम्म, वेभ ३  मा बढोत्तरीका साथ ४३२ रुपियाँसम्म र वेभ ४ मा करेक्सन भएर पुनः ४२० सम्म आउनसक्छ । 

त्यसपछि यो कम्पनीको सेयरमा बढोत्तरी आउँदा वेभ ५ को बढोत्तरी हुनसक्ने देखिन्छ । त्यो भनेको ४६० रुपियाँसम्म यो कम्पनीको सेयरभाउ पुग्नसक्ने देखिन्छ । यो कम्पनीको दोसो बजारको अन्तिम बिक्री मूल्य ३९४ रुपियाँ प्रतिकित्ता रहेको छ । 

निश्कर्ष
यी तीन कम्पनीहरुमा प्रतिसेयर आम्दानी र रिटर्न अन इक्विटीको हिसाबले गरिमा विकास
बैंक अब्बल देखिन्छ । यो बैंकको प्रतिसेयर अम्दानी २३.५२ रुपियाँ रहेको छ।

दोस्रोमा मुक्तिनाथ विकास बैंकको २१.२४ रुपियाँ र शाइन रेसुङ्गा १८.३७ रुपियाँसहित तेस्रो स्थानमा छ। 

रिटर्न अन इक्विटीमा पनि गरिमा विकास बैंक मुक्तिनाथ विकास बैंक र शाइन रेसुङ्गाको क्रमशः १७.२१, १५.७ र १३.५८ प्रतिशत रहेको छ ।

यी तीन विकास बैंकलाई प्राविधिक तथा आधारभूत रुपमा हेर्दा मुख्य सूचकहरुको हिसाबले पहिलो नम्बरमा गरिमा विकास बैंक देखिएको छ ।