काठमाण्डौ । नेपाली स्टार्टअप गल्ली म्यापले 'स्टार्टअप वर्ल्ड कप २०२३ नेपाल'को ताज जितेको छ । 

बिहीबार सम्पन्न स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा गल्ली म्यापले अरु सबैलाइ पछि पार्दै नेपाल च्याम्पियनको ताज जितेको हो । 

देशभरका स्टार्टअपहरुबीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ कम्पनीबीच भएको प्रतिस्पर्धामा गल्ली म्याप उत्कृष्ट भएको हो । 

विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्ड रेजिङ कम्पनी पिगासस टेक भेञ्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । 

विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत  वल्र्डकप नेपाल भित्र्याएको हो ।

स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वर्ल्ड कपको आयोजना गर्दै आइरहेको छ । यसपटक गरिएको स्टार्टअप तेस्रो सिजन हो । 

स्टार्टअप वर्ल्ड कप नेपाल एडिसनको उद्घाटन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार स्टार्टअपहरुलाई प्रवद्र्धन गर्न र उनीहरुको इन्नोभेसनमा सपोर्ट गर्न सदा तयार रहेको र यसपालि बजेटमा पनि सम्बोधन गरेको बताएका थिए।  

स्टार्टअप वर्ल्ड कपका विजयी गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भू पोखरेल र पेगासिस टेक भेञ्चरका पार्टनर तथा स्टार्टअप वर्ल्ड कप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरेका थिए। 

स्टार्टअप वर्ल्ड कपको बिहिबारको प्रतिस्पर्धामा उत्कृष्ट ५ स्टार्टअपहरुमा Galli map, Quickfox consulting, Diyo AI, Aster Innovation, Kleanit upcyclers रहेका छन् ।

बिजयी महर्जनले अमेरिकाको सिलिकन भ्यालीमा विश्वब्यापी प्रतिस्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कारको रुपमा पाउने आयोजकले बताएका छन् ।