काठमाण्डौ । साताको पहिलो दिन नै बजारमा दोहोरो अंकको पहिरो गएको छ । 

नेप्सेले अनलाइन कारोबार प्रणालीको भद्रगोललाई सुधार गर्न नसक्दा, ऋणको ब्याजदर नघट्दा र ठूला तथा संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बस्दा बजार निरन्तर घटिरहेको छ । 

यो क्रममा आइतबार समेत नेप्से परिसूचक १२.०५ अंकले घटेर ११२७.५३ विन्दूमा सीमित भयो । 

यो दिन होटल समूहमा ११.६८ अंकको बढोत्तरी भए पनि बाँकी समूहको सूचकमा रातो पोतियो । 

बैंकिङ समूह ६.७२ अंकले घटेको यो दिन विकास बैंक समूहमा १४.६५ अंक, जलविद्युत समूहमा २६.१८ अंक, बित्त समूह ५.७२ अंक,  जीवन बिमा समूहमा ११०.०८ अंक, जीवन बिमा समूह १६०.२६ अंक, माइक्रोफाइनान्स समूह १५.७१ अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूह ५.३५ अंक र अन्य समूह ५.७३ अंकले घटे ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ७ लाख ८२ हजार ४ सय ७७ कित्ता सेयर २३ करोड ५१ लाख ९४ हजार ८ सय ८३ रुपैयाँमा किनबेच भयो ।

यो दिन माछापुच्छे बैंकले सबैभन्दा बढी १ करोड ४० लाख बढीको कारोबार गर्यो । अपर तामाकोशीले १ करोड ३९ लाख बढीको कारोबार गरेको यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १० लाख, नागरिक लगानी कोषले ९८ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले ९३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९३ लाख, एनआइसी एशिया बैंकले ७९ लाख, नेपाल बैंकले ७४ लाख, एनएमबी बैंकले ७० लाख र प्राइम कमर्सियल बैंकले ६२ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन विजय लघुवित्तका लगानीकर्ताले २ प्रतिशतको हाराहारीमा कमाए ।

यो दिन ११ कम्पनीको सेयर मूल्य मात्र बढ्यो, बाँकी सबै कम्पनीले गुमाए । 

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।

पछिल्लो समय मार्केट मेकरको रुपमा देखिएको अपर तामाकोशीको सेयर मूल्य करिब ३ प्रतिशत(प्रति कित्तामा रु. ७)ले घटेर २३१ रुपैयाँमा सीमित हुन पुगेको छ ।