काठमाण्डौ । गुड्विल फाइनान्स लिमीटेड(वित्तीय संस्था)को ऋणपत्र आगामी फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको छ । 

वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको '१२% गुड्विल फाइनान्स लिमीटेड डिवेञ्चर-२०८' का इकाई फागुन २८ गतेदेखि बिक्रीका लागि निश्कासन हुने भएको हो । 

ऋणपत्रका इकाईहरुमा छिटोमा चैत २ गतेभित्र र ढिलोमा चैत १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

यो फाइनान्स कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २ लाख ५० हजार कित्ताले हुन आउने २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्न लागेको हो । व्यक्तिगत तवरले १५ करोड रुपैयाँ तथा ५००० कित्ता म्युचुअल फण्डहरु समेत गरी सर्वसाधारणका लागि रु. १० करोड रुपैयाँ बराबरको निश्कासन हुनेछ । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ । 

यो कम्पनीको ऋणपत्रलाई इक्रा नेपाल लिमीटेडले मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी एलबीबीको रेटिङ प्रदान गरेको छ । 

नेपालको वित्तीय बजारमा ऋणपत्र जारी गर्ने फाइनान्स कम्पनीमा गुड्विल दोश्रो कम्पनी हो । यसअघि आइसीएफसी फाइनान्सले जारी गरेको २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा पहिलो चरणमै आवश्यकता भन्दा बढी आवेदन परिसकेको छ ।