काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन–२०१९को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । 

यस सहकार्यअन्तर्गत आयोजना गरिएको तीनदिने सम्मेलन सोमबार समापन भएको छ ।  

सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षकशिक्षिका लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । 

गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए । सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षकशिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जनाभन्दा बढीको सहभागिता रहेको थियो । 

त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिति रहेको थियो । 

शिक्षा क्षेत्रको विकासका लागि सहभागीहरुलाई ज्ञान र विशेषज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेललको यस सहकार्यको उद्देश्य रहेको कम्पनीले जनाएकोछ। 

दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षा क्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।  

सम्मेलन शनिवार शुरु भएको थियो । “२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरणदेखि नै कक्षामा गुणस्तरीय शिक्षा प्रदान गरेर मात्रै हासिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिंदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ,” उद्घाटन सत्रमा प्रमुख अतिथीका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले भने । 

सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिको पनि उपस्थिति रहेको थियो । 

“एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने–‘“आवश्यक समयसापेक्ष तालिमबाट बञ्चित सरकारी विद्यालयका शिक्षकशिक्षिकाहरुलाई प्लेटफर्म प्रदान गर्दै उहाँहरुलाई अझ सशक्त बनाउन सहयोग पुर्याउनमा एनसेलको यो सहकार्य केन्द्रीत रहेको छ । ’

अन्तर्राष्ट्रिय सिकाई पद्धति, नेपालका स्थानीय कक्षाकोठाहरुसम्म पुर्याउनु र यसका लागि शिक्षकशिक्षिकाहरुलाई आवश्यक तालिम दिनु यस अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य रहेको रातो बङ्गला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले बताइन् ।

यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनपश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।