– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजार घटेर सडकदेखि सदनसम्म चर्को बहस चलिरहँदा बजार निर्माता भनेर चिनिने नागरिक स्टक डिलर भने रमिते र गुमनाम बनेको छ। 

विश्व बजारमा स्टक डिलरलाई बजार निर्माताका रुपमा चिनिन्छ। स्टक डिलरको मुख्य काम भनेको बजार बढेर सेयरको मूल्य ओभरभ्यालु हुँदा सप्लाई दिने र प्यानिक सेल हुँदा बजारबाट सेयर खरिद गरेर बजारमा माग सिर्जना गर्ने हो। 

खासगरी संस्थागत लगानीकर्ता र स्टक डिलर भनेको बजारको स्थायित्वका लागि स्थापन गरिएको हुन्छ। तर, नागरिक स्टक डिलर भने गुमनाम बनेको देखिन्छ।

केही दिनदेखि नागरिक स्टक डिलरको वेबसाइट नै बन्द छ। स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठको मोबाइल उठे पनि आफू स्टक डिलरसँग असम्बन्धित व्यक्ति रहेको जबाफ आउँछ।

यतिमात्रै नभएर नियामक निकाय अर्थ मन्त्रालय तथा धितोपत्र बोर्डले समेत नागरिक स्टक डिलरसँग बजारको स्थायित्वका लागि कुनै पहल गरेको देखिँदैन। 

बजारका सक्रिय लगानीकर्ता टेकेन्द्र ढकालले भन्छन्, ‘यो स्टक डिलरको गैरजिम्मेवारीपन हो। बजार घटेर लगानीकर्ता थाल खाउँ कि भात खाउँ भएको बेला बजारको स्थायित्वका लागि खोलिएको स्टक डिलर गुमनाम हुनु अनौठो हो।’

स्टक डिलरको कार्यालयमा सम्पर्क गर्दा एक कर्मचारीले आफूलाई वेबसाइट नचलेको र कारोबारसम्बन्धी कुनै जानकारी नभएको बताए। ‘अहिले कार्यालयमा अरु कोही पनि हुनुहुन्न, मलाई कारोबार र वेबसाइट नचलेको विषयमा थाहा हुन्न’, ती कर्मचारी भने।