काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थालाई धितोपत्र बोर्डले २ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको अनुमति दिएको छ । 

गुराँस लघुवित्तलाई बोर्डले रु. १०० अंकित दरका कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निश्कासनको मंगलबार स्वीकृति दिएको हो । 

यो कम्पनीले आइपीओ निश्कासनकोमाग गर्दै पुस १० गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । 

आवेदन दिएको साढे ३ महिनापछि आइपीओ निश्कासनको स्वीकृति दिइएको देखिन्छ । 

सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

रु. ३ करोड भन्दा कमको आइपीओका लागि क्रेडिट रेटिंग गर्न नपर्ने सुविधा छ । 

गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.७ करोड ७५ लाख र चुक्तापूँजी रु. ५ करोड २५ लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.७ करोड ७५ लाख हुनेछ । 

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवार शुुभारम्भ गरेको हो ।

धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्लाभित्र २२ वटा शाखा कार्यालयमार्फत ११,००० बढी विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्ध गरिसकेको छ ।