काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गुरुप्रसाद न्यौपाने अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही गरेको छ। 

रिडी पावर कम्पनीका न्यौपानेलाई नगद जरिबानासहित १० वर्ष कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक हुन नपाउने गरी सेबोनले कारबाही गरेको हो । ‘पुस २४ मा बसेको सेबोनको बोर्ड बैठकले न्यौपानेलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाविपरीत धितोपत्र कारोबार गरेकोले धितोपत्रसम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ’, सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने, ‘न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐनको दफा १०८ अनुसार १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सोसरहको पदमा बहाल हुन पाउने गरी कारबाही पनि गरेको छ।’ 

यसअघि सेबोन सञ्चालक समितिको न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानमाथि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। ‘प्रधानलाई धितोपत्रसम्बन्धी ऐनअनुसार नै कारबाही हुन्छ’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रधान अहिले विदेशमा रहेको बुझिन आएको छ, त्यसैले उनलाई कारबाही गर्ने निर्णय हुन बाँकी छ।’ 

कानुनविपरीत आफू सञ्चालक समितिमा रहेकै अवस्थामा न्यौपाने र प्रधानले सेयर कारोबार गरेको सेबोनले गरेको अनुसन्धानबाट खुलेको थियो। सेबोनको सम्बन्धित विभागीयबाट हदैसम्मको कारबाही गर्ने सिफारिस भएपछि सञ्चालक समितिको गत मंसिर २५ गते बसेको बैठकले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। कानुनी प्रक्रियामा जाँदा दोषी ठहरिएकाहरुलाई सफाइ पेस गर्न मौकास्वरुप स्पष्टीकरण सोधिएको हो। 

धितोपत्र दर्ता निष्कासन नियमावलीमा कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ। प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियमविपरीत श्रीमती र छोरा छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेको सेबोनको अनुसन्धानबाट देखिएको थियो। 

उता रिडी पावरको अध्यक्ष रहँदा न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेको अनुसन्धानबाट फेला परेको थियो। 

गत वर्ष पुस ६ गते सेबोनको बोर्ड बैठकले न्यौपाने आफैँले र उनको परिवारका सदस्यले उक्त कम्पनीको सेयर दोस्रो बजारमा कानुनविपरीत बेचेको भन्दै कारबाहीका लागि सिफारिस प्रतिवेदन बुझाएको थियो।