काठमाण्डौ । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविमा क्वारेन्टाइनमा राखिएका स्थानीय ५६ वर्षीय चन्द्रबहादुर परियारले शनिबार राति झुन्डिएर आत्महत्या गरेका छन्।

परियार शनिबारमात्रै भारतको नयाँदिल्लीबाट आएका थिए। उनलाई सुनौली नाकाबाट उद्धार गरी आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनभन्दा २०० मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले आफ्नै गलबन्दीको पासो बनाएका थिउ। 

राति शौचालय जान्छु भनेर निस्केका परियार निकैबेरसम्म नफर्किएपछि खोजबिन गर्दा नजिकैको एउटा रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको वडाध्यक्ष डिलाराम न्यौपानले जानकारी दिए। उनका अनुसार आत्महत्याको यकिन कारण खुलेको छैन। 

यद्यपि परिवारजनका अनुसार परियारले २ महिनाअघि पनि भारतको दिल्लीमा आत्महत्याको प्रयास गरेका थिए। सोही कारणले दिल्लीमा रहेका आफन्तले उनलाई घर पठाइदिएका थिए। 

परियारसहित आदर्श माविको क्वारेन्टाइनमा ३० जना राखिएका थिए। मृतकको स्वाब परीक्षणको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।