काठमाण्डौ । गैरआवासी नेपालीले अब सरकारसँग मिलेर इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने भएका छन्। 

सरकारले गैरआवासीय नेपालीका लागि इन्भेस्टमेन्ट कम्पनी स्थापनाका सर्तहरुमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। सरकारले सर्तहरु संशोधन गर्नुको मुख्य उद्देश्य गैरआवासीय नेपालीलाई नेपालमा लगानी भित्र्याउन प्रोत्साहन गर्नु रहेको देखिन्छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गैरआवासीय नेपालीका लागि इन्भेस्टमेन्ट कम्पनी स्थापनाका सर्तहरु संशोधन गरेको हो। यसअघि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा मात्रै इन्भेस्टमेन्ट कम्पनी उद्योगका रुपमा दर्ता गर्न पाइने व्यवस्था गरिउको थियो। 

संशोधित व्यवस्थाले नेपालमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन सहजीकरण हुने आशा सरकारले गरेको छ। यसरी खुल्ने कम्पनीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेको क्षेत्रमा न्यूनतम १० करोड रुपैयाँबाटै लगानी गर्न सक्नेछ।

त्यस्ता इन्भेस्टमेन्ट कम्पनीलाई पूर्वाधारसम्बन्धी परियोजनाको बोन्ड र डिबेन्चरमा लगानी गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ। सरकारले त्यस्ता कम्पनीले आफ्नो कम्पनीबाटै विदेशी लगानी स्वीकृत गर्न पाउने व्यवस्था पनि गरेको छ।