काठमाण्डौ । नेपाली सेयर बजारमा अहिले झन्डै ५१ लाख डिम्याट खाता छन्। लाखौँको संख्यामा लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दै आएका छन्। बजारमा लगानीकर्ताको संख्या बढेसँगै बजार हुने बेथिति पनि बढ्दोछ। विभिन्न किसिमको प्रलोभन देखाएर धितोपत्र ऐनविपरीत कार्य गर्ने संस्थाका साथै व्यक्तिको जमात बाक्लै हुँदै गएको छ।

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पछिल्लो समय धितोपत्र ऐनविपरीत कार्य गर्ने व्यक्तिका साथै संस्थाहरुमाथि कडा निगरानी सुरु गरेको छ। सेबोनको अध्यक्ष रमेशकुमार हमाल आएसँगै सेबोनले धितोपत्र ऐनविपरीत हुने कार्यको निगारानी बढाएको हो। 

सेबोनले त्यस्ता कार्यबारे सीआईबी, अख्तियारलगायत अन्य नियामक निकायसँग समन्वय गरी अनुसन्धानका साथै कारबाही प्रक्रिया पनि अघि बढाउँदै आएको छ। 

सामाजिक सञ्जालमा एफपीओ निष्कासन गर्ने भन्दै प्रचारप्रसार गर्ने ‘न्यु मार्ग साइबर कलेज’ नामक संस्थालाई सेबोनले बन्द गर्ने निर्देशन दिएको छ। सेबोनले फेसबुक पेजमा देवीनगर, बुटवल ठेगाना उल्लेख गरेको उक्त संस्थालाई बन्द गर्न पत्राचार गरेको हो।

धितोपत्र ऐनविपरीत पैसा संकलन गर्ने उद्देश्यका साथ एफपीओ निष्कासन गर्ने भन्दै प्रचारप्रसार गर्ने उक्त कम्पनीलाई तत्काल बन्द गरी सेबोनलाई जानकारी गराउन पत्राचार गरिएको सेबोनका एक कर्मचारीले बताए।

सेबोनले बारम्बार सूचना निष्कासन गर्दै धितोपत्र सार्वजनिक निष्कासन, धितोपत्र खरिद तथा बिक्री, सेयर रजिस्ट्रार, संस्थागत परामर्शलगायतको कार्य धितोपत्रबाट स्वीकृत नलिई सञ्चालन गरेको संघसंस्था गैरकानुनी हुने भन्दै लगानीकर्ताका साथै सेवाग्राहीलाई सूचित गराउँदै आएको छ।