– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । ब्रोकर कम्पनीको ‘पुल अकाउन्ट’बाटै गैरकानुनी ढंगबाट सेयर कारोबार हुने गरेको खुलासा भएको छ।  

बजारमा केही टाठाबाठा लगानीकर्ताले ब्रोकर र वाइकोका कर्मचारीसँगको मिलेमतोमा यसरी गैरकानुनी रुपमा सेयर कारोबार गर्ने गरेको खुलासा भएको हो। ‘यो गैरकानुनी हो तर यहाँ खुलेआम अझै पनि ब्रोकरको पुल अकाउन्टबाट सेयर कारोबार हुने गरेको छ’, नियामक निकायकै एक उच्च अधिकारीले भने, ‘यस्तो अवैध कारोबारमा मुख्य सहयोग नेप्सेकै छाता ओडेर बसेको वाइको कम्पनीका कर्मचारीहरुले गर्ने गरेका छन्।’ 

सेयर कारोबारमा क्रेता र बिक्रेतालाई जोड्ने ब्रोकरको खातालाई ‘पुल अकाउन्ट’ भनिन्छ। ‘एक लगानीकर्ताले आफूसँग भएको सेयर बेचे। उनले २४ घन्टाभित्रै ईडीआईएस गरेपछि उक्त बेचेको सेयर ब्रोकरको पुल अकाउन्टमा जान्छ। त्यसपछि उक्त सेयर किन्ने अर्का लगानीकर्ताले ब्रोकरलाई भुक्तानी गर्नुपर्छ। अनिमात्रै क्रेता लगानीकर्ताको खातामा सेयर जान्छ। यो प्रक्रिया ३ दिनको हुने गर्छ’, उदाहरण दिँदै ती अधिकारीले भने, यही ३ दिनको बीचमा टाठाबाठा लगानीकर्ताले ब्रोकर र वाईकोका कर्मचारीको मिलेमतोमा पुल अकाउन्टमा रहेको सेयर एकपटक गैरकानुनी ढंगले कारोबार गर्ने गरेका छन्।’

यस्तो कारोबारबाट वाइकोका कर्मचारीहरुले अर्बौं कमाइरहेको पनि ती अधिकारीले दाबी गरे।

बजारमा पहिले सेयर भौतिक कारोबार हुँदा ब्ल्याक ट्रान्सफर (बीटी) हुने गर्थ्यो। त्यो भनेको किनेको सेयरमा नामसारी नगरी कारोबार गर्नु हो। सेयरको भौतिक कारोबारमा किन्नेको नाम सेयर प्रमाणपत्रको पछाडि लेखिने गरिन्थ्यो। 

अहिले सबै सेयर डिम्याट (अभौतिक) भएपछि यस्तो कारोबार हुँदैन। टीएमएस सञ्चालन आएपछि पनि केही समय ब्रोकरको पुल अकाउन्टबाटै सेयरको कारोबार हुने गथ्र्यो। अहिले यस्तो कारोबार गर्न पाइँदैन। तर, केही टाठाबाठले वाइकोका कर्मचारीसँग मिलेर ‘टी प्लस २’को फाइदा उठाउँदै ग्राहकको खातामा जानुभन्दा पहिले नै ब्रोकरको पुल अकाउन्टबाट एकपटक सेयर किनबेच गर्ने गरेको ती अधिकारीको दाबी छ। ‘यसबारे नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई पनि जानकारी छ’, ती अधिकारीले भने, ‘यो थाहा पाएपछि सीईओ कार्की पनि झस्केका छन्।’

वाइकोका प्रबन्ध निर्देशक दिपेश प्रधानले यस विषयमा आफू अनभिज्ञ रहेको बताए। ‘सुरु–सुरुमा टीएमएस आउँदा ब्रोकरहरुलाई हामीले सहयोग गरेका हौँ तर अहिले भने त्यस्तो सम्भावना छैन’, उनले भने। 

नेप्सेका प्रबन्धक निरन्जन फुयालले अन्तर्राष्ट्रिय मार्केटमा त्यस्तो कारोबार कानुनी रुपमा हुँदै आए पनि नेपालको बजारमा गैरकानुनी रहेको बताए। त्यसैले ब्रोकरको पुल अकाउन्टबाट सेयर कारोबार हुनै नसक्ने उनले दाबी गरे।