-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । हामीले साताको पहिलो दिन आइतबारको ग्राउण्ड जिरो केहि फरक परिदृष्यमा तयार पारेका छौं ।

सँधैजसो ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुका बिचार सुन्ने ठाउँमा यो दिन हामीले सेयर लगानीकर्ताले आयोजना गरेको बनभोज कार्यक्रममा उनीहरुको सेयर अनुभव र विचारलाई समेट्ने प्रयार गरेका छौं । 
 

गएको शनिबार ‘नेपाल सेयर धनी संघले’ सेयर लगानीकर्ताहरुलाई लक्षित गरेर काठमाण्डौस्थित नैकाप भिलेज रिसोर्टमा वनभोज कार्यक्रम आयोजना गरेको थियो ।

नैकापबाट करिब १० किलोमिटर पश्चिममा पर्ने उक्त रिसोर्टमा केहि लगानीकर्ताहरु कलंकी हुृँदै बसमा गएका थिए भने केहि आफ्नै साधनमा बिहान १० नबज्दै पुगेका थिए ।
 

शनिबारको दिन रिसोर्टमा पारिलो घाम लागेको थियो ।  काठमाण्डौको चिसो मौसमबाट गएका लगानीकर्ताहरुले पारिलो घाममा आनन्द लिंदै थिए । केहि भने सेयरकै विषयमा आफ्ना अुनभव एकअर्कालाई सुनाउँदै थिए ।

सबै जम्मा भएपछि वनभोजको औपचारिक कार्यक्रम सुरु भयो । यतिकैमा एक अग्रज लगानीकर्ता सुरज खड्काले औपचारिक तवरले कार्यक्रम सुरुवात गरे । सबै लगानीकर्ता गोलाकार घेरामा बसेर आफ्ना अनुभव सुनाउँदै  घामको मज्जा लिइरहे । यतिकैमा सबैलाई आफ्नो परिचयसहित धितोपत्र बजारको विषयमा केहि शब्द राखि दिन भन्दै माइक हस्तान्तरण गरियो ।
 

गोलाकार घेरामा क्रमिक रुपमा सवैलाई बोल्ने मौका आयो । सबैले आफ्ना अनुभव र बजारको विषयमा कथा र व्यथा पोख्न थाले । 

एक जना लगानीकर्ताले आफ्नो मिठो  अनुभव सुनाउँदै स्ट्यान्डर्ड चार्टर्डको १०० कित्ता सेयर ५०० कित्ता बनाएर प्रतिकित्ता २ हजार ६०० रुपैयाँका दरले बिक्री गरेको सुनाए । उनले थपे, ‘यति फाइदा भएपछि हामी गाँउको मान्छेलाई त उखरमौलो नै भयो ।’
 

भेलामा हाँसोको फोहोरा नै चल्यो । उनले फेरि थप्दै भने, ‘सुरुवाती समयमा इन्डेक्स २९३ मा आउँदा सनराइज बैंकको सेयर १११ रुपियाँमा किनेर  ५०० रुपैयाँ माथि बेचेको मीठो अनुभव पनि  मसँग छ ।’
 
तर सानिमा बैंकको सेयर भने लामो समय होल्ड गर्दा गर्दा थाकेको तर बिक्री गरेलगत्तै प्रतिकित्ता ९०० रुपैयाँ भएको अनुभव पनि बताए । उनले थप्दै भने, ‘सेयर बजार कमाउने र गुमाउने दुबै अवसर भएको क्षेत्र हो ।’

 

अर्को एक लगानीकर्ताले गैह्रसरकारी संस्थामा जागिर गर्ने क्रममा अत्यन्त व्यस्ता हुँदा पनि सेयर बजारमा लागेको बताए ।

उनले भने, ‘सेयर बजार बारम्बार गल्ति हुने क्षेत्र हो, यसबाट पाठ सिक्दै अगाडि बढ्नु पर्दछ, पाठ सिक्नेले मात्र कमाउन सक्छ ।’ यसरी नै सबैले सेयर बजारमा आफ्ना तितामिठा अनुभव र कथा व्यथा साट्दै थिए ।
 

यतिकैमा एक जना पेसाले सिभिल इन्जिनियर र स्थायी घर धादिङ बताउने लगानीकर्ताको बोल्ने पालो आयो ।  ती लगानीकर्ताले आफ्नो परिचय दिंदै भने, ‘मेरो पनि एक रोचक कथा भनौं वा व्यथा छ, लौ सुन्नुहोस ।’
 

उनले फेरि भने, ‘म त त्यस्तो व्यक्ति हो, हेर्नुहोस करिब दुई वर्ष पहिले बजार उच्च हुँदा  विवाह गर्ने पैसा सेयरमा लगानी गरें ।सेयर बजार के भयो, कता गयो, त्यो त तपाईंहरु सबैलाई नै थाहा छ । त्यसपछि त मेरो विवाह नै क्यान्सिल भयो !’
 

काठमाण्डौको चावहिलमा अस्थायी बसोबास रहेको ती लगानीकर्ताले भने, ‘२ वर्ष हुँदा पनि केटी साथीले छोडेकी त छैनन्, अब कति कुराउनु ? ! अब एक वर्षमा पनि बजार बढेन भने मेरो विवाह अगाडी नै ब्रेकअप हुन्छ !’
 

त्यसपछि हाँसोको फोहोरो छुट्यो । कार्यक्रम स्थलको माहोल नै परिवर्तन भयो । उनले फेरि थप्दै भने, ‘सेयरबजार छिट्टै बढोस, अरुको भलो होस, मेरो विवाह पनि होस ।बजारको विषयमा मेरो धेरै ज्ञान त छैन तर बजार बढोस भन्ने मेरो चाहना छ   ।

यस्तैयस्तै अनुभव साटेर नेपाल सेयरधनी संघको औपचारिक वनभोज सकियो । घाम डाँडामाथि बस्दै गर्दा नैकाप माथिको डाँडाबाट चिसो आउन थाल्यो ।

केहि समय नाचगान गरेपछि लगानीकर्ताहरु बजार बढ्ने आसा बोकेर  आ –आफ्ना बासस्थानतर्फ फर्किए ।