-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं ।

आज विहान पहिलो प्रहरमा बजार केहि समय बढेको थियो भने बजारमा हाइड्रो समूह निकै चम्किएको थियो । 
 

क्लब हाउस, ब्रोकर हाउस र सामाजिक सञ्जाल सबैतर्फ हाइड्रोको नै  चर्चा/ परिचर्चा सुनिन्थ्यो । यो दिन हामीले अनामनगर आसपासका केहि ब्रोकर हाउसमा गएर  लगानीकर्ताको विचार लिएका छौं ।

हामी सबैभन्दा पहिला अनामनगरस्थित् दीपशिखा धितोपत्र स्टक ब्रोकर नम्बर ३८ मा पुग्यौं । यहाँ एक चल्ताफूर्ता महिला लगानीकर्ता फेला परिन् ।

ती लगानीकर्ताले भनिन्, ‘अब चल्ने हाइड्रो कम्पनी नै हो, मैले त अघिल्लो साता ३५ हजार कित्ता तमोर हाइड्रोको सेयर किनेर राखेकी छु । हाथवे इन्भेष्टमेन्ट नेपाल, सोनापुर मिनरल्स एन्ड आयल र शिवम् सिमेन्ट सबै बिक्री गरें ।’
 

उनले थप्दै भनिन्, ‘हाथवे कम्पनी त अझै चल्छ भन्छन् ।  एक नयाँ ब्रोकरबाट त्यो  त्रिपाठी थरको लगानीकर्ताले लाखौं कित्ता किनेर राखेको छ रे । प्रतिकित्ता १२/ १५ सय पुर्‍याउने चर्चा छ ।’
 

ती महिला लगानीकर्ता निक्कै फुर्तिका साथ ब्रोकर हाउसमा गफ दिंदै थिइन् । थप्दै फेरि उनले भनिन्, ‘मलाई त निकै डर लागेको छ । ठूला लगानीकर्ता डराएका छन्, अब सानाभुरा लगानीकर्तालाई सोध्नुपर्ने भयो ।’

उनका अनुसार अहिले हाइड्रो नै चलेको छ । हाइड्रो समूह ६० अंकले बढेको छ । दोधार भएर केहि किन्न नसकेको अवस्था छ ।

र यतिकैमा उनलाई चितवनबाट एक  पुरानो लगानीकर्ताले फोन गरेर सोध्छन्, ‘अहिले ४ लाख रुपैयाँ जति लगानी गर्दा ५० हजार रुपैयाँ तत्कालै के मा फाइदा  हुन्छ होला ?’ ती फोन गर्ने लगानीकर्ताको कुरा सुनेर उनले भनिन्, ‘यस्तो भइसक्यो बजार, मान्छे आजभोलि बैंकमा पैसा राख्नभन्दा  सेयरबजारमा खेल्न खोज्छन् ।’
 

सोही ब्रोकरमा रिडि र अरुण हाइड्रोमा लगानी गर्ने या नगर्ने बारे पनि चर्चा परिचर्चा  सुनियो ।सोही ब्रोकरमा सोनापुरको १० रुपियाँ ईपीएस आउने चर्चा पनि चल्यो । यस बेलासम्म अपरान्ह १२ बजि सकेको थियो । बजार समान्य अंकले बढेको थियो ।

केहि समयको बसाइपछि हामी भिजन सेक्युरिटिज  स्टक ब्रोकर नम्बर ३४ मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । ब्रोकर हाउसमा फोनका घण्टि लगातार बजिरहेका थिए । बजार समान्य अंकले घट्दै थियो । सोहि ब्रोकरमा भेटिएका एक जना लगानीकर्ताले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको  सेयर बढ्ने बताए ।

केहि समयको बसाइपछि हामी अनामनगरकै कालिका सेक्युरिटिज स्कट ब्रोकर नम्बर ४६  मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । बजार सामान्य अंकले घट्न थालिसकेको थियो ।

यहाँ भेटिएका एक जना लगानीकर्ताले सोधे यो अपरतामाकोशी जलविद्युत् कम्पनीको सर्वसाधारणतर्फको लिलामी(अक्सन) सेयर कहिलेसम्म हो भर्ने म्याद भनेर अन्यलाई सोध्दै थिए । उनले भने, ‘यो कम्पनीको अक्सनले पनि बजारबाट पैसा राम्रै लान्छ जस्तो छ ।’
 

उनीसँगै बसेकी अर्की महिला लगानीकर्ताले भनिन्, ‘पुस २९ गतेसम्म होला । म पनि भर्ने सोच्दै छु, कित्ता धेरै नै छ ११५ रुपियाँसम्म भर्नेले पाउला ।’
 

ब्रोकर हाउसमा यस्तै र यस्ता खालका गल्फत्ती चल्दै थियो तर बजार भने घट्दै थियो ।