-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बिहान नियमित सेसनमा बजार ठूलो अंकको उत्तारचढाव भयो ।

नियमित सत्रमा बजार खुल्ने वित्तिकै करिब ४३ अंकले घटेको बजारमा एकाएक नाटकीय सुधार आएर बजार करिब २८ अंकको बढोत्तरी भएर बजार बन्द भयो । 

सधैंको साता जस्तै यो साताको पहिलो कारोबार दिन पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको बिचार समेट्ने जमर्को गरेका छौं ।

आज सबैभन्दा पहिले हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३९ मा पुग्यौं । यस ब्रोकरमा  लगानीकर्ताहरु बजार खुल्नुभन्दा पहिले नै आइसकेका थिए ।

ब्रोकर हाउसमा लगानीकर्ताहरु बीच छिनमै सन्नटा र छिनैमा उमंग देखिन्थ्यो । विहान सुरुमा बजार एकाएक ४३ अंकले उच्च कारोबारका साथ बजार घट्यो । अघिल्लो साता बढेको बजार एकाएक घटेपछि ब्रोकर हाउसमा सन्नाटा छायो । तर सामाजिक सञ्जालहरुमा भूतप्रभावी करकै कारण बजार यसरी घट्नु स्वभाभिक भएको सन्देश आउन थालेपछि बजार पुनः सम्हालिन थाल्यो ।

उच्च अंकले घटेको बजार एकाएक फेरि सकारात्मक लय समातेर अगाडि उच्च कारोबारका साथ अगाडि बढ्न थाल्यो । कारोबारको पहिलो प्रहरमा नै घटेर पुनः बजारमा करिब २ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भयो । यस बेलासम्म अपरान्ह १२ बजिसकेको थियो ।

केहि समयको बसाईपछि हामी कालिकास्थान स्थित् नेपाल स्टक हाउस ब्रोकर नम्बर १४ मा पुग्यौ । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रो थियो । यहाँ भेटिएका कतिपय लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाले तिनुपर्ने करको कारण बजारमा उत्तारचढाव आएको बताए । बजारमा सबै विषय सकारात्मक हुँदै गएका कारण बजार अब माथि नै जानेमा पनि लगानीकर्ताहरु विश्वस्त थिए । हामीले केहि समय ब्रोकर सञ्चालकसँग पनि भलाकुसारी गर्यौं । ब्रोकर सञ्चालकले बजार जति घट्नु पर्ने घटिसकेले अब थप तल जाने ठाँउ नरहेको बताए ।

केहि समयको बसाईपछि  हामी अनामनगरस्थित आर्यतारा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । बजार सामान्य अंकले बढेको थियो । यहाँ भेटिएका लगानीकर्ताले हाथवे र सोनापुर आयल एन्ड मिनरल्स कम्पनीको चर्चा गरे ।

एक लगानीकर्ताले भने, ‘ल हेर्नुहोस मलाई एक जना साथीले हाथवे कम्पनीको सेयर किन्न भनेर सुझाव दिएको थियो तर म डराएँ । आजभोलि दिनदिनै सर्किट हानेको छ । बैंक किनेर के गर्नु ? बढ्ने बेलामा हाथवे र सोनापुर नै बढेको छ ।’

यसै ब्रोकरमा भेटिएका एक जना लगानीकर्ताले भने हाइड्रोमा पुन : उछाल आउने तर्क गरे । उनले भने, ‘बजारमा अब नयाँ नयाँ कम्पनी चल्छन् । हामी पनि त्यही अनुसार चल्नुपर्छ ।’ ती लगानीकर्ताले थप्दै भने, ‘विहान आत्तिर सेयर बिक्री गरियो,अहिले आएर भने बढ्यो ।’

सोही ब्रोकर हाउसमा लगानीकर्ता बीच नेपाल रिपब्लिक मिडिया र रावा खोला हाइड्रोको चर्चा पनि निक्कै सुनियो । अर्का एक लगानीकर्ता चाहिं अब एशियन लाइफ इन्स्योरेन्स जस्तो पुराना कम्पनी नचल्ने ठोकूवा गर्दै थिए । केहि समयको बसाईपछि हामी अनामनगरकै इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४५ मा पुग्यौं ।

यस ब्रोकरमा एक लगानीकर्ताले हाइड्रो कम्पनीप्रति इगिँत गर्दै भने, ‘खोला बढ्यो नि ।’  उनको यो कुरा भूईंमा खस्न नपाउँदै अर्का लगानीकर्ता भन्दै थिए, ‘मैले सानिमा हाइड्रो भनेको होइन त ?’

फेरि उनलाई जवाफ दिदै अर्का एक लगानीकर्ताले भने, ‘हिमालय ऊर्जा र हिमाल दोलाखा जस्ता हाइड्रो कम्पनी अबका दिनमा चल्छन् ।’