-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि सँधैको जस्तै हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं ।

हामी यो दिन सबैभन्दा पहिला सुन्धारा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५२ मा पुग्यौं । यो दिन नियमित सत्रमा बजार खुलेदेखि नै निकै उत्तारचढाव भइरहेको थियो ।

विहान सुरुवाती चरणमा बजारमा हरियाली देखिएको थियो । यहाँ लगानीकर्ताहरुको उपस्थिति सदाझैं सामान्य नै थियो । लगानीकर्ताहरु बजार बढ्नेमा ढुक्क थिए । यसै ब्रोकरमा एक लगानीकर्ता भन्दै थिए, ‘मैले त सेयर कर्जा लिएरै बजारमा हात हालेको छु, यहि त हो बजार पस्ने बेला।’
 

उनले भने, ‘केहि दिनदेखि बढेको बजार करेक्सन त होला तर अब बजार बढ्ने नै हो ।’सोही ब्रोकरमा भेटिएका लगानीकर्ताहरु पनि बजार बढ्नेमा ढुक्क देखिन्थे । यस बेलासम्म दिनको १२ बसिकेको थियो । कारोबार भने २ अर्ब रुपैयाँमाथि भएको थियो ।
 

हामी केहि समयको बसाइपछि इन्द्रचोकमा रहेको एबीसी सेक्युरिटिज स्टक ब्रोकर नम्बर १७  मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । यहाँ भेटिएका कतिपय लगानीकर्ताहरुले बजार केहि दिन बढेको कारण सामान्य करेक्सन आउन सक्ने बताए ।

त्यहाँ रहेका एक जना लगानीकर्ता भन्दै थिए, ‘मैले त हाथवे इन्भेष्टमेन्ट नेपालमा कुस्त पैसा बनाए । २० लाख रुपैयाँ जति त फाइदा भयो होला । लामो समयपछि बल्ल मौका आयो ।’

केहि समय बसेर हामी धेरै लगानीकर्ताको भिडभाड हुने क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर नम्बर ६२ मा पुग्यौं । यहाँ लगानीकर्ताहरुको निकै भिडभाड थियो । सबै लगानीकर्ताहरु आ–आफ्नो कम्युटरमा कारोबारमा ब्यस्त देखिन्थे ।

यहाँ भेटिएका लगानीकर्ताहरुले अब हाइड्रो कम्पनीको बजार चल्ने चर्चा गर्दै थिए । यहिं भेटिएका एक लगानीकर्ताले मन्दाकिनि हाइड्रोपावरको चर्चा गरे । यस ब्रोकरमा भेटिएका कतिपय लगानीकर्ताहरुले चाहिं नाफा बुक गरेको चर्चा गरे भने केहिले चाहिं बजार अझै  धेरै माथि जाने चर्चा पनि गरे ।

केहि समयको बसाइपछि हामी न्यूप्लाजास्थित स्टक ब्रोकर नम्बर ३२ मा पुग्यौं । यस बेलासम्म दिनको दुई बज्दै थियो । यस ब्रोकरमा महिला लगानीकर्ताहरुको उपस्थिति उल्लेख्य थियो । बजार विस्तारै घट्दै थियो ।

यहाँ उपस्थित एक महिला लगानीकर्ताले साथीलाई  भिडियो कल गर्दै भनिन् ‘लौ हेर, बजार राताम्य भयो ।’ यहाँ भेटिएकी अर्का एक जना लगानीकर्ताले भनिन्, ‘बजार घटेपछि केहि साथीहरु त ब्रोकर हाउस आउन पनि छाडे, केहिले त मलाई ब्लक नै हानेछन् । एक जना साथि थिइन्, उनले नेपाल रिइन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्समा फसेपछि त ब्लक नै हानिन्  । मैले बिक्री गरें तर उनले बिक्री गर्न जानिनन् । अनि मसँग रिसाएर हुन्छ त ?’
 

उनीसँग बसेकी अर्का एक जना महिला लगानीकर्ताले भनिन्, ‘अघिल्लो महिना ग्राउण्ड जिरोको पत्रकारले फोटो खिचेर लगेको थियो । मिडियामा फोटो आएको आएकै छ ।’ उनीसँगै बसेकी साथीले भनिन्, ‘केहि हुन्न फोटो आएर ।’
 

सोही ब्रोकरमा रहेका कतिपय लगानीकर्ताहरु चाहिं प्रतिफल नदिने कम्पनीको मूल्य नै बढ्ने रहेछ भन्दै थिए । उनीहरु भन्दै थिए, ‘सेयर भनेको त घट्दा किन्ने बढ्दा बेच्ने  हो ।मैले त आइसिएफसि फाइनान्सको सेयर धेरै पटक खरिदबिक्री गरें तर मेरो साथिले त मान्दै मानिनन् । जागिर खाए महिना दिन कुर्नपर्छ, यहाँ त दिनमै राम्रो आम्दानी हुन्छ ।

अरु  लगानीकर्ताहरुले चाहिं बैंकको सेयरमूल्य नबढेकोप्रति इंगित गर्दै भने, ‘बजारमा राम्रो कम्पनी भन्नु पनि बेकार रहेछ । खोलो जताजता बग्छ हामी पनि त्यतैत्यतै जाने हो ।’