-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दियौं ।

यसै सिलसिलामा आइतबार हामीले राजधानीका केही नयाँ र पुराना ब्रोकर हाउस पुगेर लगानीकर्ताको विचार र बजारको अबस्थाबारे बुझ्ने प्रयास गरेका छौं । सबैभन्दा पहिले आज हामी कमल पोखरीस्थित क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर नं ६२ मा पुग्यौं ।

आज बजार विहान खुलेदेखि नै बढेको थियो ।  ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो । लगानीकर्ताहरु समधुर  गितसंगित  सुन्दै  कारोबारमा मस्त थिए । आजभोलि धरैजसो ब्रोकर हाउसमा गित संगित बज्ने गरेका सुन्न पाइन्छ । घटेको बजारमा लगानीकर्ताहरु संगितबाट भए पनि आनन्द लिने गर्दछन् ।

बजारकै विषयलाई लिएर एक जना लगानीकर्ताले भने, ‘अब बजारले बटम लगाई सक्यो, चाडपर्व पनि सकियो, अब बजार बढ्ने नै  हो ।’ सोही ब्रोकरमा रहेका अर्का एक जना लगानीकर्ता चाहिं घोराही सिमेन्टको कारोबार फेरि दोस्रो बजारमा बढ्ने बताउँदै थिए । अन्य लगानीकर्ता चाहिं बीमा कम्पनीहरुमा नै चमक आउने बताउँदै थिए । केहि भने नागरिक लगानी कोष र एचडीएलको कारोबार बढ्ने बताउँदै थिए ।

अर्काथरि भने क्रम्पनीका प्राविधिक पक्षको पनि चर्चा गर्दै थिए । सोही ब्रोकरमा रहेका एक लगानीकर्ताले बजार १ हजार ८८० को लाइनभन्दा माथि टिकेमा बजरले अप ट्रेन्ड लिन सक्ने बताए ।

उनले थप्दै भने,‘यहाँबाट माथि गएमा अल्पकालिन लगानीकर्ताहरुलको लागि टे«ड कन्फरमेसन हुन्छ ।  अझै  राम्रो त १ हजार ९०० माथि हो ।’ यस बेलासम्म दिनको १२ बजिसकेको थियो, कारोबार पहिलो प्रहरमा  ५० करोड रुपैयाँभन्दा माथि भएको थियो ।

केही समयको बसाईपछि हामी चारखालस्थित् श्रीकृष्ण सेक्युरिटिज स्टक ब्रोकर नम्वर २८ मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु कारोबारमा मस्त थिए । बजार बढी नै रहेको थियो । यतिकैमा एक लगानीकर्ताले थपडी बजाएर उफ्रदै भने, ‘अब चाडपर्ब पनि सकियो । बल्ल आयो बजारमा बुल । अब त बजार बढ्ने नै हो ।’

यही ब्रोकरमा अर्का लगानीकर्ता भन्दै थिए, ‘बढ्ने त बीमा कम्पनी नै हो । बीमा चार वटा हुन्,जसमा  हिमालयन लाइफ इन्स्योरेन्स, सिटिजन्स लाईफ इन्स्योरेन्स, आइएमई लाईफ इन्स्योरेन्स र एसियलन लाइफ  इन्स्योरेन्स  नै हो ।’ ‘मेरो त हिमालयन लाईफ इन्स्योरेसमा  बल्ल सावाँ आयो । एउटैले खायो ५ हजार कित्ता । बजारमा यतिखेर केही छ जस्तो छ’, ती लगानीकर्ताले भने,‘दसैं खर्च उठाउला भनेर किनेको बर्बाद नै बनायो । बल्ल बल्ल साँवा उठाएर बेचें ।’

यो ब्रोकरमा केहि लगानीकर्ताहरु आगामी म्रौद्रिक नीतिको समीक्षा र साम्य भएको आन्दोलनको विषयमा कुरा गरिरहेका थिए । लगानीकर्ताहरुले म्रौद्रिक नीतिको समीक्षामा जे जे भएता पनि बजार बढ्ने तर्क पेस गरे । उनीहरुको जोड थियो, ‘किनकि अहिले त ब्याज दर पनि घटिसकेकोे छ । बेस रेट पनि घट्दै गएको छ । सबै सूचक सकरात्मक भएकोले बजार बढ्छ नै ।’

 केही समयको बसाईपछि हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज स्टक ब्रोकर नम्वर ३९ मा पुग्यौं । यसबेलासम्म दिनको २ बजिसकेको थियो भने बजार १ अर्ब ५० करोड रुपैयाँभन्दा माथि कारोबारसहित  ३५ अंकभन्दा बढीले बढेको थियो । उक्त ब्रोकरमा भेटिएका केही लगानीकर्ताहरु बजारप्रति आशाबादी थिए भने केहिले बजार बढेकाले सेयर साट्फेर(पोर्टफोलियो परिवर्तन) गरेको बताउँदै थिए ।

सोही ब्रोकरमा एक जना लगानीकर्ताले आन्दोलनको विषयमा ठट्योलि पारामा भन्दै थिए, ऋणमूक्त भनेर आएका आन्दोलनकारीहरु ऋण खोजेर नै घर फर्कदै छन् रे । उनलाई समर्थन गर्दै अर्का लगानीकर्ताले भन्दै थिए, ‘आन्दोलन  योजना वीहिन देखियो । बरु पहिलो दिनमात्रै भएको भए राम्रो हुने थियो ।’