-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं ।

यसै सिलसिलामा साताको पहिलो कारोबार दिन आइतबार हामीले राजधानीको मुटुको रुपमा परिचित अनामनगर र पुतलिसडकमा रहेको न्यूप्ल्लाजमा रहेका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । सबैभन्दा पहिले आज हामी न्यूप्लाजास्थित प्रिमियर सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३२ मा पुगेका थियौं । आज बजार बिहानदेखि नै घटेको थियो । ब्रोकर हाउसमा खासै उल्लासमय वातावरण देखिएको थिएन । लगानीकर्ताहरुमा निरासा प्रष्ट रुपमा देखिन्थ्यो ।सोही क्रममा एक जना लगानीकर्ताले भने, ‘भारतको बजार अल टाइम हाइ भएको सुनाउँदै थिए । भारतको बजार एक पटक बढेर अनि फेरि घटेर फेरि नयाँ उचाइ लियो, त्यहाँ बजार रकेटको गतिमा उडेको उड्यै छ।’

उनीसँगै बसेका अर्का लगानीकर्ता भन्दै थिए, ‘नेपालको बजार पनि उड्छ एक दिन, तर कहिले ठेगान छैन ।’ उनको यो भनाइलाई ठट्यौली पारामा अर्का लगानीकर्ताले भने, ‘उड्न त उड्ला तर हामीलाई नै उडाएर लैजाला जस्तो छ ।’

त्यही बसेका अर्का लगानीकर्ता भने नेपालको बजार बढ्नलाई भारतको बजार भने घट्नु पर्छ भन्दै थिए। उनले भने, ‘याद गर्नु भाछ ? भारतको बजार बढ्दा नेपालको बजार घट्ने गर्छ । भारतमा चुनाव पनि  आँउदै छ । यता र त्यताका लगानीकर्ता एकै हुन्, त्यता घटेपछि यता बढ्ने हो । त्यसैले म त भारतको बजार पनि हेर्छु ।’
ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो । बजार भने निरन्तर घटेको थियो । सूचकहरु राताम्मे थिए ।केही समयपछि हामी न्यूप्लाजा स्थित क्रिष्टल कञ्चन्जंगा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५० मा पुग्यौं । यहाँ लगानीकर्ताको उपस्थिति निकै कम थियो ।

यहाँ  भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘म त ट्रेड गरेर थाकें, १० हजार रुपैयाँ आउला भनेर किन्यो उल्टै ५० हजार रुपैयाँ जान्छ । अब त ट्रेड गर्न पनि डर लाग्न थाल्यो ।’

उनले थपे सेयर बजार मात्रै होइन सबैतर्फ यस्तै छ । लगानीकर्ताहरु भन्दै थिए, ‘न्यूप्लाजा र पुतलिसडक आसपासका चिया पसल पनि बन्द भए । बजार चल्दा लगानीकर्ता आउँथे । बेलुका पनि अबेरसम्म पसल चल्थ्यो । तर अहिले त्यसतो अवस्था रहेन, भाडा तिर्नै मुस्किल भएर चिया पसल बन्द भएका हुन् । यहाँ सबैजसको घरको फ्ल्याट खाली छन् ।’

ती लगानीकर्ता बजारका अधिकांश लगानीकर्ताको अवस्था चिया पसलेसँग चित्रण गर्दै थिए । त्यस्तै छ भन्छन् । ब्रोकरहरुको अवस्था पनि त्यस्तै छ । एक जना ब्रोकर भन्दै थिए, ‘लगानीकर्तालाई लिमिट दियो उधारो नै उठ्दैन ।’

केही समयको बसाइपछि हामी अनामनगरस्थित भोलेगणेश सेक्युरिटिज स्टक ब्रोकर नम्बर ६१ मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति शून्य प्राय : थियो । हामीले केहि समय सञ्चालकासँग कुराकानी गर्यौं । ती सञ्चालकले बजारको अवस्था बारे यही हुन्छ भन्न सकेनन् । तर सेयर किन्ने समय रहेको भने उनले बताए।

यो बेला  त किन्ने समय हो तर कति समय बजार यस्तै रहला भनेर भन्न सकिन्न । यस बेलासम्म दिनको १ बजिसकेको थियो ।बजार भने १५ अंकले घटेको थियो । ब्रोकर हाउसमा सन्नटा थियो । पुतलिसड्क र अनामनगर आसपासको बाहिरी वातावरणमा पनि खासै चहल पहल थिएन । केही समयको बसाइपछि हामी बुद्धनगरस्थित कलश सेक्युरिटिज स्टक ब्रोकर नम्बर ७४ मा पुग्यौं ।

यहाँ पनि ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति खासै थिएन । उपस्थित एक महिला लगानीकर्ताले आफू म्रौद्रिक नीतिको प्रतीक्षामा रहेको बताइन् । ती लगानीकर्ताले भनिन्, ‘बजार  बढ्ला भन्ने आसैआसमा महिनौं वित्यो । अब त बजार हेर्न मन लाग्न पनि छोड्यो ।’