-अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैंको साता झै ग्राउण्डका लगानीकर्ता(भूइँ मान्छे)को बजारप्रतिको मनोविज्ञान बुझ्ने कोशिश यसपटक पनि भयो, तर फरक ठाउँबाट । अरुबेला काठमाण्डौ केन्द्रीत ग्राउण्ड जीरो यो पटक भने पोखरा केन्द्रीत गरेका छौं ।
हामी पोखराका बिभिन्न ब्रोकरहाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुको बिचार सुन्ने र बुझ्ने काम गर्यौं ।
देशका अन्य ठाउँमा जस्तै पोखरामा पनि सेयरबजारको रौनक कम छैन । औद्योगिक रुपमा पनि देशको ठूलै शहर भएर पनि होला यहाँ धेरैजसो मानिस सेयरबजारमा कुनै न कुनै रुपमा जोडिएको पाइन्छ । बजारका बटुवादेखि ब्यापारीसम्म, झुपडीदेखि महलसम्म सेयरबजारको चर्चा र परिचर्चा सुन्ने मौका मिल्यो ।
अहिले अनलाईन कारोबारको कारण तथा चाडबाड र दसैंको रमझम बाँकी नै भएकोले पनि ब्रोकरहाउसमा लगानीकर्ताको उपस्थिति निकै पातलो रहेको देखियो । आज हामी सबैभन्दा पहिले पोखराकै न्यूरोडस्थित नेपाल स्टकहाउस ब्रोकर नम्बर १४ मा पुग्यौं । त्यहाँ भेटिएका लगानीकर्ता भने अघिल्लोपटक बजार इन्डेक्स ३२०० भन्दा माथि भएको समयमा अप्पर तामाकोशी र सिइडिबि हाइड्रोको सेयर बेचेर नाफा गरेकोमा मख्ख थिए । उनले भने-'अप्पर त ७०० तिर किनेर ९०० तिर बेचियो । सिइडिबि हाइड्रोबाट पनि राम्रै फाइदा भयो ।'
सोही ब्रोकरहाउसमा भेटिएका एक नयाँ लगानीकर्ता भने टिएमएसका लागि ब्रोकरले मागेको ब्ल्याङ्क चेक छोड्ने बिषयमा सोधपुछ गर्दै भन्दै थिए-'यो ब्ल्याङ्क चेकमा सही गरेर किन छोड्ने ?' ब्रोकरले भने बिश्वासका लागि लिने गरेको भन्दै ती नयाँ लगानीकर्तालाई आश्वस्त पार्न खोज्दै थिए ।
केही समयको बसाइँपछि हामी न्यूरोडकै प्रिमियर सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३२ मा पुग्यौं । त्यहाँ केही नयाँ लगानीकर्ता डिम्याटको फर्म भरिरहेका भेटिन्थे । सोही ब्रोकरका सञ्चालक भने पछिल्लो समयमा बजार बढेको समयमा केही नयाँ लगानीकर्ता फसेको कथा सुनाउन व्यस्त देखिन्थे । उनले ब्रोकरको समस्या देखाउँदै किनेको सेयरको पैसा उठाउनै समस्या भएको बताए ।
बजार घटेको समयमा त झनै चुनौति हुने पनि उनले दुखेसो पोखे । 'खासगरी नयाँ लगानीकर्ताले समयमा नै पैसा दिन्छन्, तर पुरानो र चिनेका लगानीकर्ताले मैले व्यबस्थापकसँग कुरा गरेको छु भन्छन्, झनै पैसा उठाउनै मुश्किल हुन्छ ।'-उनले आफ्नो पीडा सुनाए ।
उनले अगाडि थपे-'राजधानीको तुलनामा यहाँका लगानीकर्ता सूचनाको हकमा पछि नै छन् । राजधानी भनेको राजधानी नै हो, उनीहरुले पहिले नै सूचना पाएर किन्छन किनकी धेरै कम्पनीको केन्द्रिय कार्यालय नै राजधानीमा रहेको छ, यहाँ सूचना आएपछि मात्रै किन्छन ।'
केही समयको बसाइँपछि हामी न्यूरोडकै कुमारी सेक्युरिटिज स्टक ब्रोकर नम्बर १ मा पुग्यौ । त्यहाँ भेटिएका एक पुराना तथा बैंकर लगानीकर्ता भन्दै थिए-'अब ब्याजदर स्थिर नै रहने जस्तो देखियो, मैले त आजबाट सेयर उठाउन थाले ।'
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19