 
                     
                                
                             
                                    -अर्जुन तिमिल्सिना
काठमाण्डौ । सुनसान ब्रोकर हाउसहरु । फाट्टफूट्ट भेटिएका लगानीकर्ताहरुमा पनि निराशा र अन्यौल मात्रै । न ब्रोकर, न लगानीकर्ता कसैको मनोबल पनि बलियो छैन । कमजोर मनोबलका साथ बजारमा खरीदबिक्री गर्दै आएकाहरुलाई भेट्दा यस्तो लाग्थ्यो–‘हामी ऐतिहासिक मन्दीको घडीमा पौ छौ कि ? लगानीकर्ताको मनोबल उठ्नै नसक्ने गरी पो गिरिरहेको छ कि ? यो अन्यौल बढ्दै गएर भविष्यमा अझै धेरै गडबड पो हुन्छ कि ?’
साताको पहिलो दिन आइतबार ग्राउण्ड जिरोका लागि रिपोर्टिङ गर्ने क्रममा भेटिएकाहरुको अनुहारमा अन्यौल र निराशाको बादल मात्र मडारिएको देखियो । लगानीकर्ताहरुमा राजनीतिक अस्थिरता, नीतिगत गडबडी, सेयर बजारप्रति सरकार र सरकारी मान्छेहरुको दोषपूर्ण हेराई जस्ता विषयहरुमा आक्रोश र असन्तुष्टिको आगो दन्किरहेको पाइयो ।
आज हामी सबैभन्दा पहिले बिहान ११ नबज्दै सुन्धारास्थित सुन्धारा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौं । आज बजार खुलेदेखि नै निरन्तर घटिरहेको थियो ।
सो ब्रोकरहाउसमा लगानीकर्ताहरुको उपस्थिति शून्यप्रायः थियो भने डिस्प्ले पनि खुलेको थिएन । हामीले केही समय ब्रोकर सञ्चालकसँग कुराकानी गर्यौं । सञ्चालकले बजार घटेपछि अचेल निकै न्यून संख्यामा मात्र लगानीकर्ता ब्रोकरहाउसमा आउन थालेका बताए । यसबेलासम्म बजार १९०० माथि नै घुमिरहेको थियो ।
यस ब्रोकरका सञ्चालकले लामो समय घटेको बजारलाई इङ्गित गर्दै भने–‘अहिलेको बजार बिरामी अवस्थामा छ र यसलाई ठीक पार्ने बलियो आधार अझै बनिसकेको छैन । बैंकहरुमाथि नियमनको नाममा राष्ट्रबैंकले प्रभिजन थप्ने, आम्दानीमा कैंची लगाउने जस्ता काम गरेका कारण पनि बैंकिङ समूहप्रतिको आकर्षण घट्दै गएको हो ।’
उनले थप्दै भने–‘मर्जमा गएका कम्पनीहरुको कारोबार फुकुवा भई सप्लाई बढ्नु र सरकार कस्तो बन्ला भन्ने लगानीकर्तामा अन्यौल भएका कारण पनि बजारमा चमक आउन सकेको छैन ।’
बजार यसैगरी केही दिनसम्म घटिरहेमा ‘मार्जिन कल’को सम्भावना पनि त्यत्तिकै रहेको उनको भनाई थियो । केही दिनपछि ‘मनी लाउण्डरिङ’को अन्तराष्ट्रिय टीम पनि नेपाल आउँदै गरेको ती ब्रोकरको भनाई थियो । उनले अहिलेको बजार केही समयसम्म साइडवेजमै गएर चल्ने अनुमान गरे । विगतको नजिर हेर्ने हो भने अहिलेको बजारमा कतिपय कम्पनीको सेयरमूल्य निकै नै सस्तो भएकोले खरिद गर्ने उत्तम अवसर चाहिँ यही बेला हो ।
त्यहाँ कुरा गर्ने क्रममा मध्यान्हको १२ बजिसकेको थियो, नेप्सेको गिरावट रोकिने छाँटकाट थिएन । केही समयको बसाइपछि हामी त्रिपुरेश्वरस्थित सेवा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५४) मा पुग्यौं । यस ब्रोकरहाउसमा पनि लगानीकर्ताको उपस्थिति शून्यप्रायः नै थियो । ब्रोकर हाउसमा डिस्प्ले पनि बन्द थियो । केही समय हामीले यस ब्रोकरका कर्मचारीहरुसँग कुरा गर्यौ ।
अचेल बजार घटेको र अनलाइन सुविधा भएका कारण पनि ब्रोकरहाउसमा लगानीकर्ताको भौतिक उपस्थिति शून्यजस्तै देखिन थालेको उनीहरुले सुनाए । केही समयको बसाइपछि हामी त्रिपुरेश्वरमा नै रहेको इन्भेष्टमेन म्यानेजमेन्ट सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५३) मा पुग्यौं । यहाँ भने डिस्प्ले खोलिएको थियो भने केही लगानीकर्ता पनि देखिए ।
यसबेलासम्म दिनको १ बजेको थियो र बजार पनि १९०० बाट तल झरिसकेको थियो । हामीले केही समय यहाँ पनि ब्रोकर सञ्चालकसँग कुरा गर्यौं । बिजशालाको समाचार नै पढेर बसेका यस ब्रोकरका सञ्चलकसँग हामीले केही समय कुराकानी गर्यौं । उनले अहिले बजारमा बिक्रीको दवाब रहेको बताए । उनले भने–‘अहिले लगानीकर्ताहरु दोधारमा छन् । बजार कता जान्छ भन्ने कुराको निक्र्यौल गर्ने माग र आपूर्तिले नै हो । हाम्रो प्रणालीमा रहेको तरलताको अभाव, विश्वका विभिन्न देशमा देखिएको आर्थिक मन्दी र देशभित्रकै अस्थिर राजनीति तथा मौद्रिक र वित्तीय नीति लगायतका कारणले बजार घटिरहेको हो । सरकार कस्तो र कस्को बन्छ ? अर्थमन्त्री को बन्छ ? भन्ने अन्यौल पनि लगानीकर्तामा देखिन्छ ।’
उनले देशको आर्थिक र राजनीतिक माहौलमा सुधार भएको खण्डमा लगानीकर्ताको मनोबल बलियो बन्न कत्ति दिन पनि नलाग्ने बताए ।
ती ब्रोकरको विश्लेषणमा राष्ट्रबैंक र बजारका नियामक निकायका अस्थिर नीति लगायतले पनि लगानीकर्ताको मनोबल गिराउने काम भइरहेको छ । ‘बजार मास सइकोलोजीले चल्ने भएको कारण अहिले बजार घटेको देखिन्छ । धेरै विषय सकारात्मक हुँदाहुँदै बजार घट्नु पछाडिको मुख्य कारण चाहिँ राजनीतिक अन्यौल नै हो । राजनीतिले चाँडै निकास पाएमा र लगानीकर्ताको मनोबल बढाउने गरी सरकारी निकायहरुले काम गरिदिएमा बजार जुनसुकै बेला बाउन्सब्याक हुनसक्छ ।’–उनले थपे ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19