-अर्जुन तिमिल्सिना
काठमाण्डौ । सँधैका साता जस्तै आज पनि हामीले बिभिन्न ब्रोकर हाउसमा पुगेर लागनीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी केही नयाँ तथा पुराना ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कोशिश गरेका छौं । 

हामी सबैभन्दा पहिले कमलपोखरीस्थित क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६२) मा पुगेका थियौं । यो ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति राम्रै थियो । आज बजार विहानैदेखि निरन्तर घटेको थियो । यहाँ लागानीकर्ताहरु स्क्रिनमा  बजार हेर्न मस्त थिए । यसै सिलसिलामा एक लगानीकर्ताले भने-'यो १२ करोडको क्याप पनि खेलाडीले फुटबलको बल खेलाए जसरी खेलाए । आउँछ आउँछ भन्छन् आउने होइन ।' 

यसैगरी ब्रोकरमा भेटिएका अर्का लगानीकर्ताले भने-'यो १२ करोडको विषय भोलि र पर्सीमा आयो भने आयो, होइन भने एक दुई महिना पर धकेलियो । गभर्नर मोरक्को जाने रे । उनी फर्केर आउँदासम्म चाडपर्व सुरु भइसक्छ ।'

ती लगानीकर्ताले भने-'क्यापको  हेरफेरसम्बन्धी संसोधित नीति आउने भनेको समीक्षामा होला जस्तो छ । मैले त कात्तिक २६ गतेतिर मात्रै यसको हेरेफेर हुने भन्ने सुनेको छु । आजभोलिमा आयो भने आयो । होइन भने बेचेर आरामसँग बस्ने हो ।' 

यस्तै ब्रोकर कार्यालयमा भेटिएका अर्का लगानीकर्ता भन्दै थिए-'यस्तै बेलामा हो सेयर किन्ने । म त डेढ दुई सयका  बाणिज्य बैंक किनेर थुपार्ने हो ।अब तिहारपछि त सेयर लोन पनि लिने हो ।' 

त्यसैगरी ब्रोकरमा भेटिएका अर्का लगानीकर्ता भन्दै थिए-'यो १२ करोडको क्याप हटाए पनि बजार बढ्ने त केही दिन हो ।  दसैं अगाडि एउटा स्वीङ आउला र खाउँला भनेको, नदिने भए ।'

यस बेलासम्म दिनको १२ बजिसकेको थियो । बजार करिब २० अंकले घटेको थियो भने कारोबार पनि औसत मात्र थियो । 

केही समयको बसाइपछि हामी नक्सालस्थित नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य थियो । बजार एकोहोरो नै घटेको थियो । 

लगानीकर्ताहरुमा बजारको बारेमा अन्यौलता नै रहेको देखिन्थ्यो । ब्रोकरमा भेटिएका एक लगानीकर्ताले पनि राष्ट्रबैंकको सर्कुलर चाँडै नआउने बिचार ब्यक्त गरे । केही समयको बसाइपछि हामी न्यूप्लाजास्थित एसियन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य थियो । यस बेलासम्म दिनको १ बजिसकेको थियो । 

बजार करिब ३० अंक जतिले घटेको थियो । यो ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने-'धितोपत्रबोर्डका अध्यक्षलाई पनि बजारले पत्याएन । बोर्डको अध्यक्ष  र गभर्नर बसेर सल्लाह गरे रे भन्थे । खोइ त बजारले विश्वास गरेको ?'

त्यसैगरी सोही ब्रोकरमा भेटिएका अर्का लगानीकर्ताले भन्दै थिए-'यसपालिको दसैं पनि खल्लो होला जस्तो छ । गएका २ वटा दसैं पनि त्यस्तै भयो । बजारबाट एक पैसा आम्दानी छैन । आईपीओ पनि प्रिमियममा आउँदा १० प्रतिशत पनि आम्दानी छैन । घोराहीमा त कमिशन पनि उठेन ।'

ती लगानीकर्ताले अगाडि भने-'बोर्ड अध्यक्ष हमालले आईपीओ र हकप्रदको बाढी ल्याएर बजार नै सखाप पारे ।' 

केही समयको बसाइपछि हामी चारखालस्थित श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) मा पुग्यौं । यस बेलासम्म दिनको २ बज्दै थियो, बजारको घटाई रोकिने अझै छाँटकाट थिएन । यहाँ बजार घटे पनि लगानीकर्ताहरु मस्त देखिन्थे । यहाँका लगानीकर्ताहरुले  भने चाडपर्वको प्रभाव बजारमा देखिंदा बजार घटेको प्रतिक्रिया दिए ।