–अर्जुन तिमिल्सिना 
काठमाण्डौ । अरु साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं ।

यसै सिलसिलामा आज हामीले पोखराका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुसँग बजारको पछिल्लो अबस्थाबारे बुझ्ने जमर्को गर्‍यौं ।

 सवैभन्दा पहिले पोखराको दीपेन्द्र सभागृह अगाडी रहेको नेपाल स्टक हाउस स्टक ब्रोकर नम्बर १४ मा पुग्यौं ।आज  बजार खुले देखिनै एकोहोरो घटेको थियो । कारोबारको पहिलो घण्टामा नै बजार २५ अंकले घटेको थियो भने कारोबार जम्मा १६ करोड रुपैयाँ मात्रै भएको थियो ।यस ब्रोकरमा लगानीकर्ताको उपस्थिति सामान्य थियो ।

यसै ब्रोकरमा कोर्ट पाइन्टमा सजिएका  एक जना लगानीकर्ता भन्दै थिए, ‘हाम्रो कम्पनीलाई आईपीओ आउन ६ वर्ष लाग्यो ।हिमालयन रिइन्स्योरेन्सको आईपीओ एकै वर्षमा द्रुत गतिमा आयो ।’
उनले आफुलाई कुनै एक कम्पनीको सँस्थापक लगानीकर्ता समेत रहेको बताए । तर उनले कम्पनीको नाम भने बताउन चाहेनन् । उनले भने,  ‘ नेपाल धितोपत्र बोर्डले कमिसनमा काम गरेको योभन्दा अरु के प्रमाण चाहिन्छ ? बजार त प्रिमियमको सेयरले नै सकिने भयो । म त भोलि सोनापुर मिनरल्सको सेयर जतिमा झरेपनि त्यत्तिमा नै बिक्री गर्छु ।’

 

उनीसँगै बसेका अर्का लगानीकर्ता भन्दै थिए, ‘आज ४ लाख कित्ता सेयर बिक्रीमा छ किन्ने चाहिं कोहि छैन ।’
 

सोही ब्रोकरमा उपस्थित अर्का एक जना लगानीकर्ताले भने इदिमर्दी हाइड्रोपावरको १ हजार कित्ता सेयर बिक्री गर्न आएको बताए । सोही  ब्रोकरमा भेटिएका अर्का लगानीकर्ताले चाहिं अहिले सेयर बजार मात्रै सूस्त  नभएर आफ्ना धेरै साथीहरुले व्यापार व्यवसाय पनि सूस्त भएको भन्दै छोडेको बताए ।

उनले भने,  ‘पोखरा न्यूरोडका धेरै सटर खाली छन् । मेरा साथिहरुले व्यापार छाडेर महिनामा एक/ डेढ लाख रुपैयाँ जोगियो मलाई सुनाएका छन् ।’
 
यस बेलासम्म अपरान्ह १२ बज्दै थियो तर बजार निरन्तर घट्दै थियो । केही समयको बसाईपछि हामी न्यूरोडमा नजिक रहेको त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड स्टक ब्रोकर नं ४८ मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति शून्य प्राय : थियो । हामीले केही समय ब्रोकर सञ्चालकसँग कुरा गर्ने जमर्को गरयौं । ती सञ्चालकले पनि सेयर बजार मात्रै नभएर अन्य बजारमा  पनि मन्दी आएको कुरा सुनाए । उनले नजिकको घर देखाउँदै भने, ‘ल हेर्नुहोस यो घर खाली भएको १ वर्ष भयो । अझै बिक्री भएको छैन ।’

उनले यो सवै आर्थिक मन्दीको प्रभाव भएको बताए ।उनले भने, ‘म त मेरो ब्रोकरबाट काम गर्नेहरुलाई सेयर नै खरीद नगर भन्छु । लिमिट हालिदिएन भनेर रिसाउँछन् । बजार घटेपछि बल्ल कुरा बुझ्छन् ।’
ती सञ्चालक पनि घट्दो बजारप्रति निकै निरास देखिए । यस बेलासम्म दिनको १ बजिसकेको थियो, बजार ३० अंकभन्दा बढीले घटेको थियो । केही समयपछि हामी न्यूरोडमा नै रहेको कोहिनूर सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३५ मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति शून्य नै थियो । हामीले केही समय बजारको विषयमा ब्रोकर सञ्चालकसँग भलाकुसारी गरयौं । यहाँ पनि ती सञ्चालक बजारप्रति खासै सकारात्मक देखिएनन् । उनले भने,‘अहिले ठूला कर्पोरेट हाउसहरुलाई व्यापार जोगाउनै हम्मेहम्मे छ । उनीहरु झट्टै सेयर बजारमा आउलान् जस्तो छैन ।’ केही समय बसेपछि हामी न्यूरोडमा नै रहेको प्रिमियर सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३२ मा पुग्यौं ।

यहाँ पनि खासै लगानीकर्ताको उपस्थिति थिएन ।उक्त कम्पनीका सञ्चालकले अहिले दसैँ पनि भर्खर सकिएको र अनलाईनबाट काम हुने भएकोले लगानीकर्ता ब्रोकर हाउस नआएको बताए ।

ती ब्रोकरसँग हामीले लगानीकर्ताको रुपमा बजारको विषयमा जिज्ञासा राख्दा उनले यसपाली बजार १८ सयबाट पनि तल आउन सक्ने भएकोले सेयर खरिद नगर्न सुझाव दिए ।