काठमाण्डौ । आफ्नो सिस्टम ह्याक गरी हजारौं ग्राहकको गोप्य जानकारी बाहिरिएपछि भायानेटले आफ्ना ग्राहकहरुका लागि केही टिप्स सार्वजनिक गरेको छ। 
 
भायानेट कम्युनिकेशन प्रालिले एक विज्ञप्ति सार्वजनिक गरी आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको पत्ता लगाएको उल्लेख गर्दै केही व्यक्तिगत डाटा जस्तै कि नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ गरिएको बताउँदै ग्राहकका लागि टिप्स जारी गरेको हो ।
 
‘हामीले डाटा उल्लंघनको श्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेका छौं । हाम्रो प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेका छ ।’ कम्पनीका प्रबन्ध निर्देशक विनय बोहोराले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हामी अहिले नेपाल सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा छौं र हामीले सम्बन्धित निकायसँग ती डाटाहरु कहाँ अपलोड भएका छन् भनेर पत्ता लगाउन आवश्यक कदम चाल्न अनुरोध गरेका छौं । यो घटनाको बारेमा आन्तरिक टोली, साइबरसेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिदैछ र ब्यूरोद्वारा सम्भावित प्रभावको र हामी यो चाँडै नै समाधान होस् भनी आशा राख्दछौं ।’
 
भायानेटले आफ्ना ग्राहकका लागि जारी गरेको टिप्स यस्ता छन्:
१.कृपया कुनै पनि नचिनेको नम्बरबाट आएको कल र एसएमएसको जवाफ नदिनुहोस् र गैर–प्रमाणित एवं शंकास्पद इमेल नखोल्नुहोस् । कृपया आफ्नो व्यक्तिगत जानकारी यस्ता स्रोतहरुलाई नदिनुहोस् ।
२.यदि तपाईंलाई भायानेटबाट कल आयो भने, कृपया आएको कल भायानेटकै निम्न आधिकारिक नम्बरहरुबाट आएको सुनिश्चित गर्नुहोस्  
-९८०१०४६४१०
-०१–५९७०४४४ वा
-०१४२१७५५५
हामी हाम्रा ग्राहकहरुलाई यी नम्बरहरु सेभ गर्न अनुरोध गर्दछौं ताकि तपाईंहरुले आफूलाई आएको कल वास्तवमै भायानेटबाट आए–नआएको सजिलै चिन्नुहोस् ।
३.यदि तपाईंले भायानेटबाट कुनै पनि इमेलहरु प्राप्त गर्नु भयो भने कृपया उक्त इमेल “@vianet.com.np” डोमेनबाट आए–नआएको सुनिश्चित गर्नुहोस् ।
४.यदि तपाईंलाई कुनै पनि समस्या परेमा हामीलाई निम्न माध्यमबाट सम्पर्क गर्नुहोस्ः
कल सेन्टरः ०१–५९७०४४४, ९८०१०४६४१०
फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal
 
भायानेटले सिस्टम र डेटा ह्याकलाई आपराधिक क्रियाकलाप भन्दै ग्राहकहरुलाई परेको चिन्ता र असुविधाका लागि क्षमायाचना समेत गरेको छ ।