काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ।

कम्पनीले गत माघ २३ गतेबाट १०० अंकित दरका कुल ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको छ। यसमा यसअघि स्थानीय बासिन्दालाई जारी गरी बिक्री नभई बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्ता पनि समावेश गरिएको छ। आज बैंकिङ समयसम्म यो आईपीओमा आवेदन दिन सकिनेछ।

कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ५९८ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका ताकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

सीडीएससीका अनुसार हिजो सोमबारसम्म यो कम्पनीको आईपीओमा १० लाख ९१ हजार २५१ आवेदकबाट १ करोड ९८ लाख ६१ हजार ७१० कित्ताका लागि माग भएको छ । यो मागभन्दा ६ गुणा बढी कित्ताका लागि आवेदन परेको हो।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत पुस २ गते निष्कासन अनुमति दिएको थियो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

केयर रेटिङ नेपाल लिमिटेडले यो आईपीओलाई ‘केयर–एनपी बी प्लस (आईएस)’ प्रदान गरेको छ। यस क्रडिट रेटिङले निष्कासनकर्ता वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ। यो रेटिङको वहाल अवधि सन् २०२१ नोभेम्बर २५ सम्म रहेको छ।