काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही चैत ७ गतेदेखि चैत १३ गतेसम्म वित्तीय साक्षरता, धितोपत्र बजार शिक्षा तथा सचेतनासम्बन्धी देशभर विभिन्न कार्यक्रमहरु सञ्चालन गरी ग्लोबल मनी विक मनाएको छ।
किशोर तथा युवामा वित्तीय शिक्षा अभिवृद्धि गर्ने तथा यसको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले आयोजना गरिएको ग्लोबल मनी विकमा सेबोनले विभिन्न कार्यक्रमहरुको समन्वय एवं संचालन गरेको थियो।
अर्गनाइजेस अफ इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट तथा इन्टरनेसनल नेटवर्क अन फाइनान्सियल एजुकेसनले वार्षिक रुपमा आयोजना गर्ने यो सप्ताहमा सेबोनको समन्वयमा सञ्चालित विभिन्न कार्यक्रममा धितोपत्र बजारका नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएससी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, रेटिङ एजेन्सीहरुको सहभागिता थियो।
त्यस्तै सेबोनले सञ्चालन गरेका कार्यक्रममा वित्तीय क्षेत्रका अन्य नियमन निकाय नेपाल राष्ट्र बैंक, बीमा समिति, नेसनल बैंकिङ इन्स्टिच्युट, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा धितोपत्र बजारसम्बद्ध सम्पूर्ण संघसंस्थाको सहभागिता थियो।
यस्ता छन् सेबोनले सञ्चालक गरेका कार्यक्रम –
चैत ७ गते : नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति र सहकारी विभागबाट संयुक्त रुपमा आयोजित वित्तीय सेवा र वित्तीय साक्षरता तथा यसको महत्व विषयक कार्यक्रममा बोर्डका तर्फबाट धितोपत्र बजारको आधारभूत पक्ष र लगानी शिक्षासम्बन्धमा बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले प्रस्तुतीकरण गर्नुभएको थियो।उक्त कार्यक्रममा देशका विभिन्न प्रदेशका विद्यार्थी, सहकारी संस्थाका सेवाग्राही, बीमा अभिकर्ता तथा अन्य वित्तीय सेवाग्राहीका साथै धितोपत्र बजारका लगानीकर्ताको उल्लेखनीय सहभागिता थियो।
चैत ८ गते : धितोपत्र बजार तथा लगानी सचेतना सम्बन्धमा तयार गरिएका पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरणका साथै धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरुमा भएका पहलका साथै लगानीकर्ताहरुमा बोर्डको सन्देशलगायतका सामग्री गोरखापत्रमा प्रकाशन गरिएको थियो। त्यसैगरी सोही दिन नेपाल स्टक एक्सचेन्जले लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा नेप्से र सीडीएससीले नट्स सिस्टम र सेन्ट्रल सेक्युरिटिज डिपोजिटोरीको प्राविधिक पक्षहरुका सम्बन्धमा सहभागीहरुलाई प्रशिक्षण गर्नुका साथै बोर्ड अध्यक्ष रमेशकुमार हमालको प्रमुख आतिथ्यतामा रिङ द बेल कार्यक्रमसमेत सम्पन्न गरेको थियो। त्यस्तै एक मर्चेन्ट बैंकरले हेराल्र्ड कलेजका स्नातक तहका कुल ७० जना विद्यार्थीलाई सहभागी गराई लगानी व्यवस्थापन तथा इन्भेस्टमेन्ट बैंकिङ सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।
चैत ९ गते : बोर्डको समन्वयमा देशका विभिन्न प्रदेशका मुख्य शहरहरु पोखरा, बुटवल तथा विराटनगरमा धितोपत्र बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो।विराटनगरमा बोर्ड, नेप्से, सिडिएससि, स्टक ब्रोकर एशोसियसन अफ नेपाल, मर्चेन्ट बैंकर्स एशोसियसन अफ नेपाल तथा इक्रा नेपाल लि.समेतको प्रस्तुतिकरण रहेको उक्त कार्यक्रममा द्दण्ण् भन्दा बढी युवा, विद्यार्थी एवं लगानीकर्ताको सहभागिता रहेको थियो। पोखरामा आयोजित कार्यक्रममा १८० जना र बुटवलमा आयोजित कार्यक्रममा १७० जनाको सहभागिता थियो। मर्चेन्ट बैंकर प्रभु क्यापिटलले चैत ९ गते ललितपुरको वागमति गाउँपालिकास्थित जनजागृति उच्च माध्यमिकका उच्च माध्यमिक तहका कुल ८० जना विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकहरुलाई आधारभूत सेयर शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।
चैत १० गते : बोर्डको समन्वय तथा स्टक ब्रोकर एसोसिएशन अफ नेपाल र मर्चेन्ट बैकर एसोसिएशन अफ नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढी शहरमा प्रदेशस्तरीय धितोपत्र बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियोे। उक्त कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख आतिथि, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामेश्वर दंगाल र बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा सुदूरपश्चिम विश्वविद्यालयका व्यवस्थापन संकायका डिन पदमराज जोशी विशेष अतिथि रहेका थिए। कार्यक्रममा मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेशमा ठूल ठूला उद्योग कलकारखाना खोल्न तथा प्रदेशका युवा जनशक्तिलाई प्रदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न नेपाल धितोपत्र बोर्डलगायत अन्य निकायले पनि देशको संघिय ढाँचालाई अनुसरण गर्नुपर्ने र उक्त कार्यलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
लगानीकर्ता, युवा, विद्यार्थी र विभिन्न क्षेत्रका व्यवसायी तथा पेशाकर्मी गरी ३०० जना सहभागी भएको उक्त कार्यक्रमको पहिलो सत्रमा धितोपत्र बजारका आधारभूत पक्ष तथा बजारको महत्व सम्बन्धमा बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले प्रस्तुतीकरण गरेका थिए।
यस्तै वित्त बजार तथा वित्तीय साक्षरता सम्बन्धमा नेपाल राष्ट्र बैंक धनगढीका कामु निर्देशक अवन्तिका रिमाल र धितोपत्रको दोस्रो बजार सम्बन्धमा नेप्सेका प्रवन्धक निरञ्जन फुयालले प्रस्तुतिकरण गरेका थिए।
चैत ११ गते: बोर्डले श्ययm मार्फत् सामूहिक लगानी कोष र क्रेडिट रेटिगंका आधारभूत पक्षहरुका सम्बन्धमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।मर्चेन्ट बैंकर्स एशोसियसन अफ नेपालका तर्फबाट पोस्कर बस्नेत र इक्रा नेपालबाट राजीव महर्जनको प्रस्तुतीकरण रहेको उक्त कार्यक्रम बोर्डका कामु निर्देशक रेवत श्रेष्ठले सञ्चालन गरेका थिए। यस भर्चुअल कार्यक्रममा करिब १ हजार १०० लगानीकर्ताहरुको सहभागिता थियो।
चैत १२ गते : बोर्डले रेडियो नेपालमार्फत ‘वित्तीय साक्षरता, धितोपत्र बजार शिक्षा तथा सचेतना’ सम्बन्धमा उच्चस्तरीय छलफल कार्यक्रम आयोजना गरेको थियो।उक्त कार्यक्रममा प्राडा. राजनबहादुर पौडेल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार क्षेष्ठ, बीमा क्षेत्रका विज्ञ भोजराज शर्मा र बोर्डका उपकार्यकारी निर्देशक तथा विश्व वित्तीय सप्ताह–२०२२ धितोपत्र बजार शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम आयोजना समितिका संयोजक डा. नवराज अधिकारीको सहभागिता थियो। सोही दिन ‘पुँजीबजार शिक्षा तथा युवाको सशक्तीकरण’ विषयमा हिमालयन टेलिभिजनमार्फत छलफल कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा बोर्ड अध्यक्ष रमेशकुमार हमाल, बोर्डका पूर्वअध्यक्ष प्राडा शुरविर पौड्याल, प्राडा राधेश्याम प्रधान, नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र वित्त तथा कर विज्ञ केपी पाण्डे वक्ताका रुपमा रहेका थिए।
त्यस्तै प्रभु क्यपिटलले नेपाल धितोपत्र बोर्डको समन्वयमा नेपालमै पहिलो पटक काठमाण्डौ उपत्यकाका १५ वटा कलेजका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई सहभागी गराई अन्तर कलेज वित्तीय प्रश्नेत्तरी प्रतिस्पर्धा–२०२२ संचालन गरेको थियो।
चैत १३ गते : बोर्डको समन्वय एवं व्यवस्थापनमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो। प्रभातफेरी कार्यक्रमको समापनसत्र अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेप्से, सिडिएसि, रेटिङ संस्थाहरु, स्टक ब्रोकर एशोसियसन अफ नेपाल र मर्चेन्ट बैकंर्स एशोसियसन अफ नेपाल, नेशनल बैंकिङ इन्स्टिच्यूट र उक्त निकाय तथा संस्था सम्बद्ध संस्था तथा कर्मचारीहरुको व्यापक सहभागिता रहेको थियो।
विश्व वित्तीय सप्ताह–२०२२ मा सञ्चालित उल्लिखित कार्यक्रमहरुबाट वित्तीय साक्षरता, धितोपत्र बजार गतिविधि तथा महत्वको सम्बन्धमा आमसर्वसाधारणमा जानकारी प्राप्त भई वित्तीय साक्षरता तथा धितोपत्र बजार सचेतना अभिवृद्धि हुने र धितोपत्र बजारमा सुसूचित भई प्रवेश गर्न उत्साहित हुने र यसबाट धितोपत्र बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डले लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago