काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा बिलय हुने सम्झौता गरेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बुधबारबाट रोक्का गरिएको छ।

नेपाल स्टक एक्सचेन्स (नेप्से) ले स्पर्श लघुवित्तको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार रोक्का गरेको हो। यी दुवै लघुवित्तबीच प्राप्ति सम्झौता हिजो मंगलबार भएको थियो।

ग्लोबल आइएमई लघुवित्तको असोज २० गते नै बसेको सञ्चालक समितिको ११८ औं वैठकबाट गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २६ विजयपुर अवस्थित स्पर्श लघुवित्तबाट प्राप्ति गर्नका लागि आएको प्रस्ताव स्वीकार गर्ने निर्णयपछि गाभ्ने गाभिने सहमतिपत्रमा हस्ताक्षर भएको हो। 

स्पर्श लघुवित्त प्राप्ति गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुने, कारोवार वृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथ स्तरीय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भई संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने  विश्लेषणका आधारमा स्पर्शलाई प्राप्ति गर्न खोजिएको ग्लोबल आइएमई लघुवित्तले जनाएको छ ।