काठमाण्डौ । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को सहमति सकारात्मक रहेको जनाएको छ।
परिसंघले आज आफ्नो धारणा सार्वजनिक गर्दै एनबीएको निर्णय सकारात्मक रहेको जनाएको हो। ‘मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेका छन्। यसले अर्थतन्त्रलाई नै संकुचित बनाइरहेको छ’, परिसंघले भनेको छ।
परिसंघले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिँदै आएको छ। ‘यो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने हाम्रो विश्वास छ’, परिसंघद्वारा विज्ञप्तिमा उल्लेख छ।
निक्षेपको ब्याजदर घटेसँगै लागत (कस्ट अफ फन्ड) घट्ने परिसंघको ठहर छ। ‘यसले आधारदर र कर्जाको ब्याजदर पनि घटाउने हाम्रो बुझाइ छ’, विज्ञप्तिमा भनिएको छ, ‘कर्जाको ब्याजदर घट्दा उद्योग–व्यवसायमा लगानी विस्तार हुने र उद्योगी–व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने हाम्रो विश्वास छ।’
परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएका थिए। ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरि अगाडि बढाउने र समग्र मागमा वृद्धि आउने हुँदा अर्थतन्त्र चलायमान हुन जाने विश्वास परिसंघको छ।
नेपाल राष्ट्र बैंकले गत सातामात्रै चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै गरेको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको थियो। यसका साथै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकसमक्ष परिसंघले आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago