काठमाण्डौ । संस्थागत निक्षेप ब्याजदर घटाउन माग गर्दै मंगलबार नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालय पुगेका उद्योगीव्यापारीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्।
संस्थागत निक्षेपको ब्याजदर घटाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन राष्ट्र बैंक पुगेका मोरङ चेम्बर अफ कर्मस र मोरङ व्यापार संघका पदाधिकारीमाथि सुरक्षाकर्मीहरुले दुर्व्यवहार गरेका हुन्। ‘हामीले ज्ञापनपत्र बुझाउन राष्ट्र बैंकभित्र जान खोज्दा प्रहरीले रोके’, मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजूले भने, ‘हाम्रा केही साथीहरुलाई लछारपछार गर्ने काम भयो।’
आफ्ना माग उठाउँदा उद्योगव्यवसायीमाथि यसरी सुरक्षाकर्मी परिचालन गरेर दुर्व्यवहार गर्नु उचित नभएको जाजूले बताए।
मोरङ व्यापार संघले यसअघि जिल्ला प्रशासन कार्यालय मोरङमा पनि ज्ञापनपत्र बुझाएको थियो। ‘अनुत्पादनमूलक क्षेत्रमा ११ प्रतिशत ब्याजदर कायम गर्नु उचित होइन, यसले व्यापारी मारमा परेका छन्’, उनले भने।
उद्योगीव्यापारीले संस्थागत निक्षेपको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्ने, उत्पादनमूलक उद्योगलाई बैंक ऋण सहज गर्नुपर्ने, स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने, उद्योग–व्यवसायलाई एकल अंकको ब्याजदरमा कर्जा गर्नुपर्ने, महँगी बढ्दै गएकोले सरकारले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेलगायतका माग उद्योगीव्यापारीले राखेका छन्। ‘हामी झन्डै एक घन्टासम्म राष्ट्र बैंकको गेट अगाडि रोकेर राखिएको थियो’, जाजूले भने, ‘पछि यहाँ (राष्ट्र बैंक) को प्रमुख मीन पाण्डे आफैँ बाहिर आएर ज्ञापनपत्र बुझ्नुभयो।’
जाजूका अनुसार पाण्डेले उद्योगीव्यापारीले उठाएका मागहरुका विषयमा सम्बन्धित निकायमा जानकारी गराउने प्रतिबद्धता गरेकी छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19