काठमाण्डौ । बजार निरन्तर घटेर राम्रा कम्पनीहरुको सेयर आकर्षक मूल्यमा पाउन थालिएपछि लगानीकर्ताहरुले खरिदारी बढाएका छन् । बजार घटेको मौका छोपेर सेयर खरीद गर्नेहरुका कारण सोमबार नेप्से परिसूचक ७.४१ अंकले बढेर ११०९.७३ को विन्दूमा फर्किएको हो । 

यो दिन बजार घटेको बेला सस्तोमै राम्रो कम्पनीको सेयर किन्न पाउने मौकाको केही लगानीकर्ताले उपयोग गरेबाहेक बजार बढाउने अन्य केही कारण छैन । 

सोमबारको बजारको  सुरुवातमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने बेतुकको हल्लाको सामान्य प्रभाव देखिएको विश्लेषक बताउँछन् । तर, यो हल्ला र आधारहीन खबरको भ्रम चिरिएसँगै बजार आफ्नै लयमा फर्किएको थियो । 

यो दिन सेन्सेटिभ इण्डेक्स १.५९ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा ०.५२ अंकको बढोत्तरी देखियो । 

बित्त समूह ०.६५ अंकले घटेको दिन अन्य सबै समूहको सूचब बढे । बैंकिङ समूह ४.०७ अंकले बढ्यो भने होटल समूहमा १.५२ अंक, विकास बैंक समूह २.२७ अंक, जलविद्युत समूह ५.१३ अंक, जीवन बिमा समूह ६०.०२ अंक, निर्जीवन बिमा समूह ७२.१७ अंक, माइक्रोफाइनान्स समूह १०.५१ अंक, उत्पादनमूलक २०.३७ अंक, अन्य समूह १०.५८ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घट्यो । यो दिन बजारमा १६६ कम्पनीका ७ लाख २० हजार ८४५ कित्ता सेयर २० करोड ३८ लाख ३९ हजार ८६४ रुपैयाँमा किनबेच भए ।

नवील बैंकले सबैभन्दा बढी २ करोड ५० लाख बढीको कारोबार गर्यो । बैंकले साधारणसभा प्रयोजनका लागि भोलिदेखि बुक क्लोज गर्दैछ, सोमबारको कारोबारमा त्यसैको प्रभाव देखिएको हो । 

नवील बैंकको १ करोड ४० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा अपर तामाकोशीले ७८ लाख, एशियन लाइफ इन्स्योरेन्सले ६८ लाख, एनएमबी बैंकले ६६ लाख, एनआइसी एशियाले ६२ लाख, बैंक अफ काठमाण्डूले ५९ लाख, नेपाल बैंकले ५८ लाख, कृषि विकास बैंकले ५२ लाख र सूर्य लाइफ इन्स्योरेन्सले ५१ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आँखु खोला जलविद्युत कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.४९ प्रतिशतले बढ्यो । 

धेरै गुमाउनेमा सहयोगी विकास बैंकका लगानीकर्ता परे । यो कम्पनीको मूल्यमा ९ प्रतिशतको हाराहारीले गिरावट आयो ।